संघर्षले सफलता चुमेकी गायिका ‘भुमिका’


यशोदा भुजेल

काठमाण्डु – नेपाली चर्चित लोक तथा दोहोरी गायिका हुन भुमिका गिरी । उनी दाङको पटौलीमा आजभन्दा करिब २८ वर्ष अगाडि जन्मिएकी हुन् । उनी सानो उमेरकी हुँदा गाउँ घरमा हुने मेला, जात्रा वा बिहेमा जादा होस् उनको कानमा लोकभाका गुन्जिन्थ्यो । त्यसबेला देखि हो भुमिकाको लोकभाका प्रति मोह बसेको । उनको आवाज यति मिठो थियोकी आज उनले आफुलाई ‘स्टेज क्वीन’को रुपमा आफूलाई स्थापित गर्न सफल भएकी छन् ।

उनले पहिलोपटक कक्षा ५ मा पढ्दा औपचारिक रुपमा गायन प्रतियोगितामा भाग लिएकी थिइन् । त्यहाँबाट उनले जिन्दगीको एउटा सपना बुनिन् ‘गायिका’ बन्ने । तर, उनका बुवालाई गीत गाएको, नाचेको पटकै मन पर्दैनथ्यो । आमाले भने छोरीले गलाभरी माला अनी बिजयको अबिर लगाएर पुरस्कार थापेको देख्दा गर्ब महसुस गर्थिन् । ‘हाम्रो समाज अझै पनि गीत गाउने, नाच्नेलाई राम्रो नजरले हेरेको पाईंदैन । त्यसैले मलाई मेरो बुवाले कहिल्यै पनि समर्थन गर्नु भएन तर ममिले भने सधैं प्रेरणा दिनुभयो । त्यसैले त आज म यो स्थानमा छु’, उनले गर्वका साथ भनिन् ।

एलएलसी पास गरेपछि उनी उच्च शिक्षा र गायनमा जम्ने सपना बोकेर काठमाण्डु पसिन् । तर, उनले सोचेजस्तो काठमाण्डु रहेनछ । बल्ल बल्ल एउटा दोहोरी साँझमा गीत गाउने अवसर पाइन् तर त्यसको आम्दनीले काठमाण्डुमा जिबिको पार्जन त परै जाओस खान पनि पुग्दैन थियो । तर उनले हार भने कहिले मानिन् । उनले संघर्ष गरिरहिन र गीत गाइरहिन् । काठमाण्डुको दुःख र साथीहरुको हौसलाले भुमिकालाई धेरै कुरा सिकायो । उनले केही कुराको परवाह नगरि आफूलाई गायनमा झन् उत्कृष्ट सावित गर्न र निखार्न दिन रात नभनी संघर्ष गरिरहिन् ।

भुमिकाको सांगितिक यात्रा:

काठमाण्डुमा पाहिला टेकेको ४ बर्षपछि उनलाई एल्बम निकाल्नका लागि अफर आयो । उनले पहिलो एल्बम ‘लौका चाख्ने मौका देउ’ भन्ने गीतबाट सांगितिक क्षेत्रमा प्रवेश गर्ने मौका पाइन् । उक्त गीत रोहिला भएकोले गण्डकी र धौलागिरी क्षेत्रमा मात्रै रुचाइयो ।

त्यसपछी उनले पहिलो एल्बम निकालेको करिव ६ महिनापछि दोस्रो एल्बमको अबसर पाइन् । ‘तिहुन मोठो बनायो चुकैले’ भन्ने गीतले भूमिकालाई रातारात संगितमा स्थापित गराइदियो । दर्शकले रुचाउँदै गएपछि मेला/महोत्सब सांगितिक कार्यक्रममा उनको खोजी हुन थाल्यो । त्यसपछि उनको आर्थिक पाटो पनि सहज हुन थाल्यो ।

भुमिकाका नेपालका अधिकांश ठाउमा पुगेकी छन् । हालसम्म उनी जापान, कोरिया , हङ्कङ, दुबई, कतार, बराहिन, इज्रायल जस्ता दशहरुमा आफ्नो सागितिक कोशेली पस्किन पुगिसकेकी छिन् ।

उनलाई युके एकदमै मन पर्छ । साथै उनलाई नेपालको पहाडी क्षेत्र पनि असाध्यै मन पर्छ, त्यसमा पनि बिशेष गरी पोखरा र स्याङजा बढी मन पराउँछिन् । त्यहाँको सुन्दर ठाउँले उनको मन लोभ्याउँछ । उनले नेपाल भन्दा बिदेशमा राम्रो पारिश्रमिक पाउने बताइन् । स्वदेशबाट विदेशिएका नेपाली दाजुभाई दिदीबहिनीहरुले धेरै माया दिने उनको अनुभव छ । आफूले रोजेको पेशामा भूमिका एकदमै खुशी छिन् ।

कुनै समय गरेको मिहिनेत र धैर्यताले नै आफूलाई यो स्थानमा पुर्याएको उनी बताउँछिन् । सहकर्मीसँगका रमाइला/नराम्रा दुवै अनुभब छन् उनीसँग । उनका ‘लौका चाख्ने मौका देउ, तीजैले गरायो, गोरखपुरको सलाई, दिएउ चुरोट, मायाकै पिरलो, तारासँगै जून, विकृति, बांसैको तामा, आजै भागी जाम’ लगायतका गीतहरु चर्चित रहेका छन् ।

लोक दोहोरीलाई नेपालीको पहिचान मान्ने उनले हालसम्म ३५/४० भन्दा बढी एल्बममा आफ्नो स्वर दिइसकेकी छन् ।
उनले भर्खरै ‘चोली मैलो भो’ बोलको गीत आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी छन् । यो गीतलाई दर्शक श्रोताले एकदमै मन पराइरहेका छन् ।

विवाह:

जीवनमा धेरै संघर्षबाट स्थापित भएकी भुमिका विवाहलाई सामान्य रुपमा लिन्छिन् । उमेरले भर्खर २८ वर्षमा प्रवेश गरेकी भुमिका परिवारको जिम्मेवारीका कारणले विवाहबारे सोच्ने फुर्सद नभएको बताउँछिन् । उनी परिवारको जेठी छोरी हुन् । उनले घरको सबै व्यवहार आफ्नो काँधमा रहेको बताइन् ।

अहिलेसम्म कसैसँग पनि गहिरो प्रेम नबसकेको उनको भनाई छ । कोही मन परे पनि साँगितिक क्षेत्रलाई राम्ररी नबुझ्ने भएकोले बिहे नै गर्छु भन्ने खालको युवक फेला नपरेको उनले बताइन् ।

उनी आफ्नो पेशा र आफुलाई असाध्यै माया र विश्वाश गर्ने जीवन साथीको खोजिमा छिन् । उनले जात, सम्पति भन्दा पनि मन मिल्ने जीवन साथीको खोजीमा रहेको बताइन् ।

‘सांगितिक क्षेत्रमा अझै मैले धेरै गर्नुछ । त्यसैले मलाई साथ दिने विश्वाश गर्ने, धोखा नदिने, मेरो पेशामा रोक नलगाउने, आँखा चिम्लेर समर्थ गर्ने केटा हुनुपर्यो,’ उनले भनिन, ‘बरु सामान्य मान्छे होस तर बुझ्ने होस ।’

उनलाई बिहे गरिहालौं जस्तो कहिले पनि लागेन । उनले भनिन्, ‘घरमा मेरो ठूलो जिम्मेवारी थियो । घर परिवार मिलाउनु पर्ने, भाईहरुलाई पढाउनु पर्ने भएकोले बिहे तिर ध्यान नै गएन ।’

सरल स्वभावकी भुमिका अरुको मन नदुखोस् भन्ने कुरामा धेरै सचेत छिन् । ‘झट्ट हेर्दा म छुची छु । कसैले केही नराम्रो भन्यो भने म सहन सक्दिन । र म अरुलाई अन्यायमा पनि पार्दिन । कसैको मन पनि दुखाउँदिन ।’

साकाहारी खानेकुरा खाने भुमिकालाई सपिङ गर्न एकदमै मन पर्छ । खानेकुरामा उनी त्यति मतलव राख्दिनन् । आफ्नो पर्शनालिटी मेन्टेन गर्न उनी खुबै रुचाउँछिन् ।

भुमिकाको सपना:

लोक, आधुनिक, दसैं, तिहारका गीतमा स्वर भरेकी चर्चित लोक गायिका गिरीले उत्कृष्ट लोकदोहोरी म्युजिक अवार्ड समेत पाएकी छिन् । उनले विभिन्न विधामा तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड, हिमालयन अन्तराष्ट्रिय म्युजिक अवार्ड, रापती म्यूजिक अवार्ड, कालिका म्युजिक अवार्ड, हिमालयन अन्तराष्ट्रिय म्युजिक अवार्ड लगायत अन्य धेरै अवार्डहरु हात पार्न सफल भइसकेकी छिन् । यसको श्रेय उनी आफ्नी आमालाई दिन चाहन्छिन् ।

उनले ठूलो सपना त देखेकी छैनन् । तर, सबैको मन जित्न सक्नु नै उनको भविष्यको उदेश्य रहेको बताइन् । उनि झट्ट हेर्दा कुनै चलचित्रको नायिका भन्दा कम देखिँदैनन् तर, कहिले पनि आफुलाई राम्री छु भनेर घमण्ड नहुने उनले बताइन् । मान्छे सिकेर कहिले पनि पूर्ण नहुने भुमिका जीवनको अन्तिमसम्म पनि मानिसले सिकिरहने बताइन् । उनि भन्छिन, ‘म अझै सिक्दैछु किनकी मानब कहिले पूर्ण हुदैन, हो म पनि त्यस्तै छु ।’

भुमिका चर्चाभन्दा पनि लोकप्रियता कमाउन चाहन्छिन् । उनले आफू कहिले पनि क्षणिक वाहवाही र चर्चाको पछि नलाग्ने बताइन् । उनको जीवनको एउटै उदेश्य छ– मलाई चर्चितभन्दा पनि सबैको प्रिय बन्नु छ । चर्चा क्षणिक हुन्छ भने लोकप्रियता अमर !

प्रतिक्रिया दिनुहोस
Advertisement