काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच भोटेकोशी–त्रिशुली बाढीबाट भएको जनधनको क्षतिबारे सोमबार टेलिफोन संवाद भएको छ ।
फोन वार्ताका क्रममा एडमले बाढीका कारण भएको जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र त्यहाँका जनताको तर्फबाट दुःख व्यक्त गर्दै नेपालसँग ऐक्यबद्धता जनाएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
उनले विपद्का कारण प्रभावित नेपाली नागरिकप्रति समवेदना प्रकट गर्दै संकटको समयमा नेपाल सरकार र नेपाली जनताप्रति माल्दिभ्सको समर्थन रहेको बताएका छन् ।
जवाफमा परराष्ट्रमन्त्री खनालले विपद्को कठिन समयमा नेपालप्रति सहानुभूति, समर्थन र ऐक्यबद्धता व्यक्त गरेकोमा माल्दिभ्स सरकार तथा जनताप्रति धन्यवाद दिए ।
टेलिफोन संवादमा दुवै मन्त्रीले जलवायु परिवर्तनका कारण जोखिममा रहेका नेपाल र माल्दिभ्सजस्ता मुलुकले भोगिरहेका साझा समस्याबारे पनि छलफल गरेका थिए ।
उनीहरूले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको विषयलाई थप प्रभावकारी रूपमा उठाउने र जलवायु जोखिम न्यूनीकरणका लागि आपसी सहकार्य बढाउने विषयमा समेत प्रतिबद्धता जनाएका छन् ।
‘टेलिफोन वार्ताका क्रममा दुवै विदेशमन्त्रीले जलवायु जोखिममा रहेका मुलुकहरूले सामना गरिरहेका साझा चुनौतीबारे छलफल गर्नुभएको थियो’, मन्त्री खनालको सचिवालयले प्रेस नोट जारी गर्दै भनेको छ, ‘उहाँहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको प्रवर्द्धन तथा थप प्रभावकारी जलवायु कार्यका लागि सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।’




प्रतिक्रिया