काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उठेकी नेतृ सीता गुरुङले आफ्नो उम्मेदवारीलाई आरक्षणभन्दा महिलाले खुला प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्न सक्छन् भन्ने सन्देशका रूपमा प्रस्तुत गरेकी छन्।
समावेशी उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै गुरुङले निर्वाचन जित्ने संकल्पसहित आफू प्रतिस्पर्धामा आएको बताइन्।
‘आरक्षणभन्दा पनि महिलाहरू पनि खुला प्रतिस्पर्धा गर्न सक्छन् भन्ने मेरो बुझाइ छ। समावेशी उपसभापतिमा उम्मेदवारी दिएर म निर्वाचन जित्न सक्छु भन्ने संकल्प राखेको छु,’ उनले भनिन्।
उनले निर्वाचित हुने प्रक्रिया लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको बताउँदै आफ्ना अग्रज तथा समकालीन नेताहरू प्रतिस्पर्धामा रहे पनि महाधिवेशन प्रतिनिधिबाट आफूले पाएको हौसला र मायाले उत्साहित भएको बताइन्।
‘निर्वाचित प्रक्रिया लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो। धेरैजना मेरा अग्रज र सहपाठी साथीहरू मेरो प्रतिस्पर्धामा हुनुहुन्छ। तर मलाई महाधिवेशन प्रतिनिधि साथीहरूले हौसला र माया दिनुभएको छ। त्यसकारण म उपसभापतिमा निर्वाचन जित्छु,’ उनले भनिन्।
गुरुङले आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य विभाजित अवस्थामा रहेको कांग्रेसलाई एकताबद्ध बनाउनु रहेको बताइन्।
‘मेरो उम्मेदवारी पोखिएर रहेको कांग्रेस एक बनाउनु हो। अहिले कांग्रेस एकदमै ठूलो विचलनमा छ। विचलित कांग्रेसलाई एकजुट बनाउँदै महिला समावेशिता र रूपान्तरित कांग्रेस बनाउनु हाम्रो मुख्य लक्ष्य हो,’ उनले भनिन्।
महाधिवेशन प्रतिनिधिहरूले आफ्नो अभियानलाई साथ दिने विश्वास व्यक्त गर्दै उनले पार्टीलाई नयाँ स्वरूपमा अघि बढाउन नेतृत्व परिवर्तनसँगै नीति र कार्यशैलीमा समेत रूपान्तरण आवश्यक रहेको बताइन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा गुरुङ तेह्रथुमबाट कांग्रेस उम्मेदवारका रूपमा निर्वाचित भएकी थिइन्। उनले १९ हजार ७०७ मत प्राप्त गर्दै एमालेका विजय सुब्बालाई पराजित गरेकी थिइन्।
तर २०८२ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले तेह्रथुमबाट गुरुङलाई उम्मेदवार बनाएन। त्यस निर्वाचनमा कांग्रेसबाट सन्तोष सुब्बा उम्मेदवार बनेर निर्वाचित भएका थिए।
देउवा नेतृत्वको कांग्रेसमा रहेकी गुरुङ पछिल्लो समय पार्टीभित्र विकसित नयाँ राजनीतिक समीकरणसँगै गगन थापा नेतृत्वको धारमा देखिएकी छन्।
१५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा गुरुङसहित विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार र रञ्जित कर्णले उम्मेदवारी दिएका छन्। यो क्लस्टरबाट एकजना उपसभापति निर्वाचित हुने व्यवस्था छ।



प्रतिक्रिया