सत्ताको दमनका कारण सदन अवरुद्ध भएको हो : सांसद गौतम

सत्ताको दमनका कारण सदन अवरुद्ध भएको हो : सांसद गौतम


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सत्ताको आफ्नै दमनका कारण सदन रोकिएको बताएकी छन् ।

सोमबार प्रतिनिधि सभाको बैठक रोकिएपछि संघीय संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सदनले उम्किने बाटो नरोजी जनतालाई स्पष्ट पार्न आग्रह गरिन् ।

उनले भनिन्, ‘छानबिन समितिप्रति चित्त बुझाउने ठाउँ छैन । नयाँ बनाउने भनी वार्ता गर्ने बित्तिकै सहमतिमा आउन सकिन्छ ।’ सभामुखले सबै दललाई एकैठाँउमा भेला गराएर सदन सञ्चालन गर्ने बाटोतर्फ लैजाँदा सबैको हित हुने उनले बताइन् ।

दीर्घकालीन समाधानका लागि उच्चस्तरको छानबिन समिति बनाउन प्रस्ताव राख्दा सत्तापक्षबाट अस्वीकार भएकाले आफूहरू एक्सनमा उत्रिएको उनले बताइन् ।

सांसद गौतमले भिजिट भिसा प्रकरणबारे सत्यतथ्य खबरहरू बाहिर आउन आवश्यक रहेको बताइन् । ‘रास्वपाको आन्दोलन केही हप्तादेखि चलिआएको छ । भिजिट भिसा प्रकरणबारे सत्यतथ्य खबरहरू बाहिर आउन आवश्यक छ । यसमा सरकार संवेदनशील हुन आवश्यक छ । त्यसको लागि दीर्घकालीन रूपमा उच्च किसिमको छानबिन समिति बनाउन प्रस्ताव राख्दा सत्तापक्षबाट अस्वीकार हुँदा सदन अवरुद्ध गर्न वाध्य छौं,’ उनले भनिन् ।

सबै दलहरूलाई एकै ठाउँमा राखेर छलफल गरे समस्याको निकास निकाल्न सकिने उनले बताइन् ।