चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनमा केही पदाधिकारीमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले फरक–फरक उम्मेदवार खडा गरेका छन् ।
महिला उपसभापतिमा लामिछानेले कानूनमन्त्री सोबिता गौतमलाई अघि सारेका छन् भने प्रधानमन्त्री साहले तोसिमा कार्कीलाई समर्थन गरेका छन् ।
साह पक्षधरले आफ्ना पक्षका प्रतिनिधिलाई कार्कीको पक्षमा मतदान गर्न भनिरहेका छन् । सामान्य प्रशासनमन्त्री प्रतिभा रावल पनि उप-सभापतिको आकांक्षी थिइन् ।
लामिछानेकै पहलमा उनी अन्तिममा प्रतिस्पर्धा नगर्ने मनस्थितिमा मात्र पुगिनन्, गौतमको प्रस्तावक नै बसिन् ।
लामो समयदेखि कार्की र लामिछानेको सम्बन्ध राम्रो छैन ।
लामिछानेले विश्वास नगरेपछि पछिल्लो समय कार्कीले प्रधानमन्त्री साहको टिमसँग निकटता बढाएकी थिइन् ।
स्रोतका अनुसार पछिसम्म टिममा रहेर काम गर्ने प्रतिबद्धता जनाएका कारण आफ्नै मन्त्रिपरिषदकी सदस्य गौतमलाई उपसभापतिमा चुनौती दिएकी कार्कीलाई प्रधानमन्त्री शाहले समर्थन गरेका हुन् ।
महामन्त्रीमा निवर्तमान सह–महामन्त्री विपिनकुमार आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्की चुनावी प्रतिस्पर्धामा छन् ।
आचार्य सभापति लामिछानेका उम्मेदवार हुन् । गणेश कार्कीलाई प्रधानमन्त्री शाहको समर्थन छ ।
झा र ढकाल भने व्यक्तिगत रुपमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
यसअघि उम्मेदवारी घोषणा गरेका शिशिर खनाल, गणेश पराजुली, रञ्जु दर्शना, जगदिश खरेल, राजुनाथ पाण्डे र प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।
पाण्डेले कार्कीलाई र अरुले आचार्यलाई समर्थन गरेका छन् ।




प्रतिक्रिया