सामाजिक सञ्जाल दुरुपयोग : ख्याल-ख्यालमै झेल


काठमाडौं – काठमाडौंमा डेरा गरी बस्ने २३ वर्षीया कल्पना (नाम परिवर्तन)को विवाह भएको १५ दिन मात्रै भयो । उनलाई फेसबुकबाट धेरैले शुभकामना दिए । तर, एक युवाले कल्पनासँग खिचेको फोटो राखेर कमेन्ट गरे । त्यसमै केहीले ‘अर्काको गलफ्रेन्ड चोरेर विवाह गर्ने’ भन्दै प्रतिक्रिया जनाए । ती युवती र उनका पतिले उक्त घटना सहन सकेनन् । उनीहरूले प्रहरी गुहारे । प्रहरीले कमेन्ट गर्ने युवाको खोजी गरिरहेको छ । तापनि, ती युवाले युवतीका आफन्तलाई पुराना फोटो पठाएर हैरान पार्न छाडेका छैनन् ।

० बागबजारमा डेरा गरी बस्ने सुजन (नाम परिवर्तन)को भेट जापानमा रहेकी एक युवतीसँग फेसबुकमा भयो । उनीहरू फेसबुकमै गफिन थाले । सुजनले म्यासेन्जरमा भिडियो कल गरे । ती युवतीले संवेदनशील अंग देखाउन भनिन् । युवकले सर्वांग नांगो भएर भिडियो च्याट गरे । तर, उनी तब छाँगाबाट खसेझैं भए जब युवतीले ५ हजार डलर नदिए गुप्तांगसहितको फोटो र भिडियो फेसबुकमा हालेर भाइरल बनाउने धम्की दिइन् । युवक प्रहरीमा पुगे । प्रहरीले फेसबुक एकाउन्ट बन्द ग¥यो । समस्या तत्काललाई समाधान भए पनि युवती जापानमै रहेकाले उनी ढुक्क हुन सकेका छैनन् ।

पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही नसोची युवकले भनेजसरी गरिन् । समय बित्दै गयो । भेट्न बोलाएको ठाउँमा युवती नपुगेपछि युवकले फोन गरेर पहिला खिचेका फोटो र भिडियो पोस्ट गर्ने धम्की दिन थाले । उनले प्रहरी गुहार्ने बताएपछि युवकले अर्कैका नाममा नक्कली फेसबुक खोलेर साजनाको सर्वांग नांगै भएको फोटो र भिडियो पोस्ट गरे । साजनाले पतिलाई घटनाबारे जानकारी दिइन् । त्यति बेलासम्म साजना प्रहरीमा पुग्न ढिलाइ भइसकेको थियो । ती युवक वैदेशिक रोजगारीका लागि मलेसिया उडिसकेका छन् । यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement