अमेरिकामा पढाउँदै नेपाल प्रहरीका डिअाइजी


काठमाडौँ– प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. राजिब सुब्बाले सामाजिक संजाल तथा विपद व्यवस्थापन’ सम्बन्धी २ दिने तालिम प्रदान गरेका छन्। संयुक्त राज्य अमेरिकाको हवाई स्थित एशिया प्यासिफिक सेन्टर फर सेकुरिटी स्टडिज नामक संस्थाद्वारा सञ्चालित विपद व्यवस्थापन सम्बन्धी तालीमका ३७ देश तथा ६ क्षेत्रीय संगठनहरुका १०३ जना सहभागीहरूलाई सुब्बाले तालिम प्रदान गरेका हुन् ।

हवाइमा रहेको एशिया प्यासिफिक सेन्टर फर सेकुरिटी स्टडिज (एपिसिएसएस) मा एसिया क्षेत्रका सुरक्षा र पराराष्ट्रसँग सम्बन्धित उच्च अधिकारी पत्रकार र विज्ञहरुको सहभागिता हुने गर्छ । यो संस्थाले अमेरीकी सरकारको एसिया क्षेत्रको सुरक्षा र कुटनितिक निति कस्तो बनाउने भन्ने विषयमा सरकारलाई सुझाव समेत दिने गर्छ ।

अमेरीकी सेनाको एशिया प्यासिफिक कमान्डले यसमा प्रत्यक्ष लगानी गर्छ । २ दिनसम्म चलेको सामाजिक संजाल तथा विपद व्यवस्थापन’ सम्बन्धी विषयमा प्रशिक्षणमा संस्थाका प्राध्यापकहरु, अनुसन्धानकर्ताहरु तथा उच्चपदस्त अधिकारीहरु समेत उपस्थित प्रशिक्षण कार्यक्रममा उनले २०७२ सालको भूकम्प पश्चात नेपाल प्रहरीले सामाजिक संजाल लगायत अन्य सूचना तथा संचार प्रविधिको प्रयोग गरी प्रभावकारी खोज तथा उद्दार कार्य सञ्चालन गरेको सम्बन्धी अनुभव समेत प्रस्तुत गरेका थिए ।

संस्थामा प्रतिनिधि र सुब्बा विच भएको भेटमा आगामी दिनहरुमा नेपाल प्रहरीलाई विपद व्यवस्थापन सम्बन्धी प्रशिक्षण सहयोग गर्ने तर्फ संस्था सकारात्मक रहेको समेत जानकारी दिए । उनले २०१३ मा विपद व्यवस्थापन सम्बन्धी प्रशिक्षण प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement