काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएका छन् ।
प्रदेश सभामा विश्वासको मत लिने तयारी भए पनि उनले अन्तिममा राजीनामा दिएका हुन् ।
सत्ता सहयात्री नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।
राजीनामा दिँदै उनले भने, ‘विश्वासको मत मेरो पक्षमा छ भन्न त आएको हुँ । तर यसो हेर्दा विश्वासको मत छ जस्तो छैन । मलाई मुख्यमन्त्री बनाएका माननीयज्यूहरूले मार्गप्रशस्त गर्नु भनेको जस्तै मार्गप्रशस्त गर्ने घोषणा गर्छु ।’
प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ र १ स्वतन्त्रसहित ५३ प्रदेशसभा सदस्य छन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि अब नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्ने भएको छ ।
प्रतिक्रिया