म्याग्दी- मालिका गाउँपालिका ३ को सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ । टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो ।
स्थानीय रविन खत्रीले खेतीयोग्य जमिन पहिरोले बगाउँदा त्यहाँका तीन घरसमेत उच्च जोखिममा परेको बताए। “पहिराले दुई हलको बारी बगाइसकेको छ, आँगनमै पहिरो आइपुगेकाले बर्खामा घरमा बस्ने अवस्था छैन”, उनले भने ।
कर्णबहादुर खत्री, बलबहादुर खत्री र चित्रबहादुर खत्रीको घर पहिरोको उच्च जोखिममा परेको छ । सेउलुङमा पछिल्ला वर्ष निरन्तर पहिरो जाँदा करिब २० घरपरिवारको बसोबास रहेको थियो । अहिले सयौँ रोपनी खेतीयोग्य जमिन र अदिभारा-डाडाँगाउँ-सोले-तमानखोला सडक पनि जोखिममा पर्ने खत्रीले बताए। पहिरोका कारण नजिकको जमिन धाँजा फाटेर चिराचिरा परेको छ ।
उनका अनुसार टाक्से हुँदै रुम जोड्ने सडक निर्माणसँगै पहिरो बग्न थालेको हो । फेदी टाक्सेमा जाली लगाए पनि माथिल्लो क्षेत्रमा पहिरो रोकिएको छैन । ठूलो क्षेत्रफल र लामो पहिरो भएकाले रोकथामको प्रयास सफल हुनसकेको छैन ।
मालिका गाउँपालिका ३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरिए पनि कठिन भूगोलका कारण तत्काल रोकथामको हुन नसकेको बताए ।
जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि पहल गरिएको उनले बताए । पहिरो बढ्न नदिन भल व्यवस्थापनको प्रयास गरिएको वडाध्यक्ष बुढाले बताए।




प्रतिक्रिया