इतिहासमै जंगल युद्धकला तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक बनिन् सिपाही राधिका थापा


काठमाण्डु – सिपाही राधिका थापा प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक बन्न सफल भएकी छन् । प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कात्तिक ७ गतेबाट सुरु भएको तालिम माघ ६ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिविद्रोह तथा जंगल वारफेयर तालिममा सोही शिक्षालयकी महिला सैनिक जवान व्य.नं. २६३८०७ सिपाही राधिका थापा पहिलो पटक सहभागी भई सफलतापूर्वक सो तालिम सम्पन्न गर्ने इतिहासमै पहिलो महिला सैनिक हुन सफल भएकी नेपाली सेनाले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्ला, मेलम्ची न.पा. वडा नं. २ थापाटोल बस्ने राधिका मिति २०६९/०३/१५ गते नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन् ।

सैन्य आधार तालिम पश्चात मिति २०७०/०२/२४ गतेबाट प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत रहेकी उनले सोही शिक्षालयमा सञ्चालन भएको उच्चस्तरको शारिरिक एवं मानसिक क्षमता माग गर्ने सि.सं. १०३ प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरि साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेकी छन् ।

तीन महिनाको अवधीसम्म चल्ने अत्यन्तै कठिन तालिमको रुपमा लिइएको उक्त तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने, सर्पदंश ब्यवस्थापन लगायत बिभिन्न सैनिक ज्ञान र सीपहरु सिकाइन्छ । निज सिपाहीले बिल्लादार ग्रेड–३ तथा लाईट मोटर ड्राईभिङ्ग एण्ड मेन्टिनेन्स तालिम समेत सफलताका साथ सम्पन्न गरि सकेकी छन् ।

नेपाली सेनाको इतिहासमा यो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक हुन सफल भएकोमा नेपाली सेनालाई उनलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement