सोलुखुम्बु जिल्ला अदालतले एक करोड जरिवाना उठाउन बाँकी


सोलुखुम्बु – सोलुखुम्बु जिल्ला अदालतले एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक मसान्तसम्म दण्ड जरिवाना तोकिएका व्यक्ति तथा संस्थाबाट उक्त जरिवाना रकम उठ्न बाँकी भएको हो ।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको जरिवाना रकमसहित एक करोड ३१ लाख छ हजार ६७२ रहेकामा कात्तिक महीनासम्ममा १८ लाख ४० हजार १६० सङ्कलन भएको जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीले जानकारी दिए ।

अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएको जरिवाना रकम एक करोड २० लाख १४ हजार ११२ रहेकामा र चालू वर्षको नयाँ लगत १० लाख ९० हजार ५६० रहेको उक्त अदालतले जनाएको छ । यता कैद भुक्तान गर्नुपर्ने समय पनि जिल्ला अदालतमा चालू वर्षको कात्तिक मसान्तसम्मको जम्मा ५४४ वर्ष नौ महीना १८ दिन छ । यो आवमा १७५ वर्ष कैद फछ्र्योट गर्ने लक्ष लिइएको छ । यस वर्ष कात्तिक महीनासम्मको नयाँ लगत ८५ वर्ष पुगेको छ ।

अघिल्लो वर्ष जिम्मेवारी सरी आएको ५२८ वर्ष कैद रहेको अदालतले जनाएको छ । त्यस्तै जिल्ला अदालतबाट दण्ड जरिवाना लागेका र रकम असुल हुन बाँकी व्यक्ति तथा संस्थाको सङ्ख्या १७९ पुगेको छ । यसमा कैद सजाय मात्र गरिएका ६०, जरिवाना मात्र लागेका ६४ र दुवै सजाय भएका ५० व्यक्ति तथा संस्था रहेका न्यायाधीश सुवेदीले बताए ।

उनले भने , “अदालतको यो तथ्याङ्क हेर्दा जिल्लामा दण्डहीनता बढ्दै गएको पाइन्छ । यति सानो जिल्लामा यत्रो जरिवाना रकम नै सङ्कलन गर्न बाँकी छ । दण्डहीनता अन्त्य गर्नाका लागि सबै पक्ष लाग्न जरुरी छ । ”

प्रतिक्रिया दिनुहोस
Advertisement