पहिरोले सोलुखुम्बु–काठमाडौँ सडकखण्ड अवरुद्ध, सयौ यात्रु बीच बाटोमै अलपत्र


सोलुखुम्बु – निरन्तरको वर्षापछि आएको पहिरोले सोलुखुम्बु–काठमाडौँ सडकखण्ड अवरुद्ध बनेको छ । सोलुखुम्बु–काठमाडौँ सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

प्रजिअ खनालका अनुसार सदरमुकाम नजिकै सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लास्थित साल्मे सिस्नेरी सडकखण्डमा पहिरो खसेको छ । सडकमा पहिरो जाँदा जिल्लाबाट काठमाडौँका लागि छुटेका सवारीसाधन बिच बाटोमै रोकिएको ट्राफिक प्रहरी इञ्चार्ज प्रहरी हवल्दार सञ्जीव चौधरीले जानकारी दिए । उनका अनुसार पहिरोले तिङ्लास्थित सिस्नेरी, साल्मे क्षेत्र अवरुद्ध बनेको छ । त्यस्तै ओखलढुङ्गाको हर्कपुर क्षेत्रमा पनि पहिरो जाँदा सवारी आवगमन ठप्प बनेको छ ।

सवारी आवगमन ठप्प हुँदा सयौं यात्रुबीच बाटोमा नै रोकिएका छन् । जिल्लाबाट कटारी, सिरहा, सुनसरीलगायत प्रदेश राजधानी विराटनगर तथा काठमाडौँलगायतको क्षेत्रमा हिँडेका यात्रु बिहान ११ बजेसम्म बिच बाटोमा नै रोकिएको ट्राफिक प्रहरी इञ्चार्ज चौधरीले जानकारी दिए ।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहे पनि अविरल वर्षाका कारण समस्या भएको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाको ग्रामीण क्षेत्रका सडकसमेत अवरुद्ध बनेको स्थानीयले बताएका छन् । पानीले जमीन गलेकाले उच्च सावधानी अपनाउन प्रमुख जिल्ला अधकारी खनालले सवारी चालक, यात्रु तथा स्थानीयलाई आग्रह गरेको छन् ।

वर्षापछि पहिरोको सम्भावना उच्च हुने हुँदा सबैलाई सावधानीपूर्वक रहन प्रशासनले सबैलाई अनुरोध गरेको छ । अहिलेसम्म जिल्लामा सामान्य पहिरो बाहेक अन्य कुनै पनि अप्रिय घटना भने नभएको सोलुखुम्बु प्रहरीले जनाएको छ । केही विपद् परिहालेमा तत्काल खबर गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement