दक्षिण कोरियाली पूर्व प्रधान न्यायाधीशमाथि शक्ति दुरुपयोगको आरोप


एजेन्सी – दक्षिण कोरिया । दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उनीविरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ ।

सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश याङ विरुद्ध अभियोग लगाउनेसम्बन्धी तीन साताअघि आदेश दिएको थियो । अभियोजन अधिकारीहरुले याङ विरुद्ध आठ महिनादेखि छानबिन गरिरहेको बताइएको छ ।

अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतका अरु दुई जना अवकाशप्राप्त न्यायाधीशहरु पार्क बायाङ–डाई र को योङ–हान का विरुद्ध समेत अभियोग लगाएका छन् । उनीहरुलाई भने प्रहरी थुनामा राखिएको छैन । प्रधान न्यायाधीश याङमाथि मुख्यतः पूर्व राष्ट्रपति पार्क गिउन–हे को सरकारमाथि जानाजान छुटहरू दिएको आरोप छ । उनी सन् २०११ देखि २०१७ सम्म दक्षिण कोरियाको प्रधान न्यायाधीश थिए ।

दक्षिण कोरियाको न्यायिक इतिहासमै पक्राउ पर्ने याङ पहिलो वरिष्ठ न्यायाधीश हुन् । उनीमाथि अब फौजदारी अभियोगमा सुनुवाई हुनेछ । अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतमा रहेको राष्ट्रिय अदालत प्रशासन ९एनसीए० को प्रयोग गरी याङले पूर्व राष्ट्रपतिका पक्षमा महत्वपूर्ण राजनीतिक प्रकृतिका मुद्दाहरुको सुनुवाईमा प्रभाव पार्ने गरेको बताएका छन् ।

याङले भने ती आरोपको खण्डन गरेका छन् ।

सर्वोच्च अदालतबाट भएका न्यायिक घोटालाले मुलुकमै खैलाबैला मच्चिएको थियो । यी घटनाक्रमले न्यायिक क्षेत्रमाथि अभूतपूर्व जाँचको अवस्था निम्त्याएको थियो । प्रश्न उब्जिएको एउटा सुनुवाईमा जापानले जबर्जस्ती काममा लगाएका पीडित कोरियालीले दायर गरेको मुद्दाको सुनुवाईमा विवादास्पद रुपमा ढिलाई गरेको आरोप छ । अभियोजनकर्ताहरुले याङ र उहाँका अधिकारीहरुले जानाजान अदालतको बहसमा ढिलाई गरेको बताएका छन् ।

टोकियोसँग मित्रवत सम्बन्ध स्थापना गर्न इच्छुक पूर्व राष्ट्रपतिलाई अनुकूल हुनेगरी मुद्दाको सुनुवाई गरेको याङमाथि आरोप छ । सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश कीम मियोङ–सूले गत वर्ष अक्टोबर र नोभेम्बरमा पीडितको पक्षबाट अन्तिम आदेश दिइसकेका छन् ।

अभियोजनकर्ताहरुले एनसीएका उपप्रमुख लीम जोङ–हुनमाथि पनि सोमबार अरु आरोप दर्ता गरेका छन् । लीममाथि पूर्व राष्ट्रपति पार्कको सरकारको पक्षमा फैसलाहरु गराउने तथा त्यसो गर्न अस्वीकार गर्ने न्यायाधीशको सरुवा गर्ने गरेको आरोप छ । अभियोजनकर्ताहरुले शक्तिको दुरुपयोगको आरोपमा अरु पनि न्यायाधीशमाथि अभियोग लगाउने सम्भावना रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement