बिशेष ब्यूरोका डिआईजीको गैरव्यवसायीक हर्कत : त्रिभुवन विमानस्थलमा बुधबार भएको के हो ?


काठमाण्डु — एक महिनाअघि अर्थात असार २२ गते नेपाल प्रहरीका डिआईजीहरुको सरुवा भएको थियो । जसमा विशेष ब्यूरोको डिआईजीमा अशोक सिंहको नाम समेत थियो । सिंहको विशेष ब्यूरोमा सरुवा भएसंगै प्रहरीभित्र समेत त्यसले हंगामा भएको थियो । हंगामा हुनुको कारण थियो, सिंहसंग यसअघि बिशेष ब्युरोमा काम गरेको कुनै अनूभव नहुनु ।

नेपाल प्रहरीमा प्रति आतंकवाद र सीमापार अपराध र विशेष प्रकृतिका घटनाहरुको अनुसन्धान गर्ने जिम्मा विशेष ब्यूरोलाई छ । यो प्रहरी महानिरीक्षकको सिधै मातहतमा समेत छ ।नेपाल प्रहरीका प्रवक्ता डिआईजी टेकप्रसाद राईले विशेष ब्युरोले स्पेशल प्रकृतिको केश हेर्ने र प्रहरीका कुनै पनि युनिटले गर्न नसकेको काम ब्युरोले हेर्ने बताउंछन् ।

ब्यूरोमा यसअघि बमबहादुर भण्डारी, सुसिलवरसिंह थापा, देवेन्द्र सुवेदी, सुरेन्द्र बहादुर शाह, हरि पाल र सुबोध घिमिरेजस्ता अधिकृतहरु कार्यरत थिए । डिआईजीकै दरबन्दी रहेको ब्यूरोमा लामो अनुभव भएका टेकप्रसाद राईलाई यसपटकको सरुवामा महानिरीक्षकको सचिवालयमा सरुवा गरियो भने सिंहलाई ब्यूरोमा ल्याईयो । उनलाई ब्यूरोमा सरुवा गरेर ल्याउनुको पछाडी नै स्वार्थले काम गरेको स्रोत बताउंछ ।

सिंह काठमाण्डौं प्रहरी प्रमुख हुंदा गृहमन्त्री बालकृष्ण खांडले बिचमै सरुवा गर्ने निर्णय गरेका थिए । तर, शक्तिकेन्द्रको दबावमा तिनै सिंहको सरुवा रोकियो । संधै बिवादमा रहने सिंहले सरुवा हुनुभन्दा पहिले जुवाडेबाट बरामद चेक कानुनी प्रक्रियामा नलगेर फिर्ता गरेको प्रकरणमा मुछिएका थिए । उनले प्रक्रिया मिचेर २ करोड २९ लाखको बरामद भएको चेक आरोपीलाई फिर्ता गरेपछी बिवाद भएको थियो ।

सिंहविरुद्ध तत्कालिन अपराध अनुसन्धान विभागका डीआईजी राजेश कुमार लाल कर्णको नेतृत्वमा २०७८ पुस १३ मा समिति बनाइएको थियो । उक्त समितिले सिंहले आचरणविपरित काम गरेको भन्दै कार्वाहीको लागि सिफारिस गरेको थियो । तर, सिंहलाई कार्वाहीको सट्टा एक तह बढुवा गर्ने काम भयो ।

नेपाल प्रहरीमा यसअघि भएको डिआईजी बढुवामा वरियता र कार्यसम्पादन दुवैमा सिंह निकै पछाडी थिए । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले तिनै सिंहलाई कार्वाही गर्नुको सट्टा बढुवामा सिंहलाई अघि ल्यायो । उनलाई बढुवामा तीन नम्बरमा ल्याएर भावी प्रहरी महानिरीक्षकको लाईनमा राखिएको छ ।

बुधबार तिनै सिंहको नेतृत्वमा रहेको विशेष ब्यूरोले गर्न नहुने काम गरेको छ । काठमाण्डौंबाट १ः १० मा भारतको मुम्बई उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी आरए ३२० जहाजमा शंकास्पद व्यक्ति रहेको आशंकामा जहाज खानतलासी गर्ने काम भयो ।

जहाजमा रहेका ति व्यक्ति आतंकवादी संगठनसंग आवद्ध रहेको हल्ला एकै छिनमा फैलिएको थियो । तर, जहाजमा रहेका ति व्यक्ति कुनै आतंकवादी संगठनमा आवद्ध भएका नभई सुन व्यवसायी रहेको खुलेको छ ।

पक्राउ परेका व्यक्ति नेपाल सुनचांदी व्यवसायी महासघंका सुदुरपश्चिमका सभापति सन्तोष लामिछाने र उनकी पत्नी मिना लामिछाने हुन् । उनिहरु बुधवार मुम्बई घुम्न जान लागेका थिए । मुम्बई जान लागेका उनिहरुले सामाजिक संजालमा तस्बिर समेत पोस्ट गरेका थिए ।

प्रहरीप प्रवक्ता डिआईजी राईले यसबारेमा अनुसन्धान भइरहेको बताए । उनले भने ‘ हामि यसबारेमा अनुसन्धान गर्दैछौं । यो विमानस्थलको सुरक्षासंग जोडिएकाले पनि विषय गम्भिर हुन्छ । थप जानकारी आएपछी भनौला । ’

विमानस्थलमा कार्यरत प्रहरीका एक अधिकारीले भने ‘उनिहरु कुनै आतंकवादी पनि थिएनन् । न त कतै भाग्न लागेका थिए । तर, प्रहरीको विशेष ब्यूरोबाट जुन हर्कत भयो । त्यसले नेपालकै बेइज्जत भएको छ । ’

प्रहरीको उक्त दादागिरीले बुधवार नेपाल एयरलाइन्सको मुम्बई उडान तीन घण्टाभन्दा बढी होल्ड भएको थियो । जसले गर्दा बाहिर गलत सन्देश गएको विमानस्थलका एक अधिकारीले बताए ।

कैलाली घर भएका उनिहरुविरुद्ध कुनै मुद्दा नपरेपनि सिंहले नै कैलाली प्रहरीलाई पत्र पठाउन दबाव दिएको प्रहरी स्रोत बताउंछ । सुन चोरीको आरोपमा पक्राउ परेकाहरुले लामिछानेको नाम बयानमा पोलेको भएपनि उनिविरुद्ध कुनै उजुरी नपरेको स्रोत बताउंछ ।

लामिछानेलाई पक्राउ गरेर कार्वाही गर्न यसअघि पनि कैलाली प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौंरलाई प्रहरी अधिकारीकै दबाव थियो । तर, ठोस प्रमाणको अभावमा प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

‘चोरीको सुन लामिछानेले समेत किनेको छ भन्ने सुचना थियो । हामिले त्यसमा अनुसन्धान समेत गरिरहेका थियौं । तर, उनिविरुद्ध कुनै उजुरी भनेको परेको थिएन । माथिको आदेशमा हामिले पत्र पठाएका हौं । ’ कैलाली प्रहरीका एक अधिकृतले भने ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार आजको घटनामा कागजमा कतै पनि बिशेष ब्यूरोको संलग्नता देखिदैन । तर,सिंहकै दबावमा कैलाली प्रहरीले सार्वजनिक अपराधको पत्र पठाएको स्रोतले बताएको छ ।

ठगिमा संलग्न रहेको भनिएका लामिछाने दम्पतीलाई पक्राउ गर्न सिंहले अधिकार क्षेत्र मात्र नागेका छैनन् देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको संवेदनशिलतालाई नबुझेर गम्भिर गल्ती समेत गरेका छन् । सुरक्षा मामिलामा कलम चलाउने पत्रकार टपेन्द्र कार्कीले बुधबार व्यंग्य गर्दै टिवटमा लेखेका छन् ‘ झिंगो मार्नुपर्यो भने नेपाल प्रहरीले तोप पड्काउने गर्छ (बुधवार ठगी आरोपी पक्राउ गर्न विशेष ब्यूरो परिचालन )। ’

डिआईजी शक्तिकेन्द्रलाई रिझाउन त्यो हर्कत गरेको प्रहरीका एक अधिकारी बताउंछन् । विमानस्थलमा नेपाल प्रहरीका डिआईजी श्याम ज्ञवाली समेत कार्यरत छन् । बुधवार भएको उक्त घटनामा उनले विमानस्थल प्रहरीलाई समेत कुनै जानकारी नदिएको स्रोत बताउंछ ।

बुधवार प्रहरीको बिशेष ब्यूरोबाट भएको उक्त घटनाले प्रहरीभित्र हलचल पैदा गरेको छ । ‘विमानस्थलजस्तो संवेदनशिल क्षेत्रमा जे घटना भयो यो अति नै दुखद छ । यसले नेपालको विमानस्थलमा सुरक्षित छैन भन्ने म्यासेज बाहिर गयो । ब्युरोका प्रमुखले निकै गैरव्यवसायिक काम गर्नुभयो ।’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भएको उक्त घटनाबारे गृहमन्त्री बालकृष्ण खांडले समेत चांसो व्यक्त गरेको स्रोत बताउंछ । उनले यसमा गम्भिर कमजोरी भएको भन्दै प्रहरी नेतृत्वसंग असन्तुष्टि जनाएको उनि निकट स्रोतले काठमाण्डौंपाटीलाई भन्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement