डीएसपी ठगबहादुर भ्रष्टाचार मुद्दामा दोषी ठहर, २ वर्ष कैद सजाय


काठमाण्डु – घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा लागेका नेपाल प्रहरीका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी दोषी ठहर भएका छन् ।

विशेष अदालतले आज मंगलबार केसीलाई २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने सजाय गरेको छ ।

न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रीजेन्द्र थापाको संयुक्त इजलासले केसीलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको छ ।

केसीलाई यसअघि नै गृह मन्त्रालयले विभागीय कारबाहीस्वरूप बर्खास्त गरेको थियो । रुपन्देहीको ईलाका प्रहरी बुटवलमा प्रमुख भएका बेला केसीले बरामद भएको सुन फिर्ता गर्ने क्रममा घुस मागेका अख्तियारको ठहर थियो ।

२०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले सुन फिर्ता लगेको कागज गराए पनि सुन फिर्ता नगरी आफैंसँग राखेको पाइएपछि उनी अनुसन्धानमा तानिएका थिए । त्यतिबेला उनले १८ लाख रुपैयाँ घुस लिएको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement