अपराध नियन्त्रणमा विशेष अभियान, धमाधम पक्राउ पर्दै अभियुक्त


संखुवासभा — दुर्लभ बन्यजन्तु सालकको खपेटा गैरकानुनी ढंगले रकम लिएर छाडेको आरोपमा प्रहरी जवान प्रकाश कार्की र रुद्रबहादुर बस्नेत पक्राउ परे । भोटखोला गाउँपालिमा पर्ने स्याक्सिलामा कार्यरत उनीहरूलाई गत माघ २८ गते पक्राउ गरिएको हो ।

उनीहरूलाई भोटखोला ४ को तीनतलेमा एक जना तस्करबाट एक लाख नगद लिएको भेटिएपछि निलम्बन गरियो । खपेटा र तस्करलाई बाटैमा छाडेर दुबै प्रहरी जवानले एक लाख नगद लिएको प्रमाण भेटियो । नगद लिनासाथ गोप्य सूचना डीएसपी सन्तोष खडकालाई आएपछि उनीहरूलाई खनतलास गर्दा नगद भेटिएको थियो ।

आगो लागेको स्थानमा पठाएको ती जवानले फर्किने क्रममा तस्कर भेटेका थिए । रकम लिएर छाडेको प्रमाण पाएपछि हामीले दुबै जनालाई समात्याै, उनले भने, ‘सर्च गर्दा एक लाख भेटियो, उनीहरूलाई निलम्बन गरेर अनुसन्धान गरिरहेका छांै ।’ गैरकानुनी ढंगले काम गर्ने कसैलाई उन्मुक्ति नदिने उनले बताएकाे खबर अाजकाे  कान्तिपुर दैनिकमा छ ।

प्रहरीले माघ २ गते नै भोटखोला २ चेपुवा च्याम्ताङका कर्म भोटेलाई पुरानो बुद्धको मूर्ति सहित समात्यो । उसको साथबाट बौद्धलिपि, चाँदीका गरगहना, हिउँमाला, मुगामाला, सिमाला लगायतका बहुमूल्य बस्तु फेला पार्‍र्यो । यी घटना उदाहरण दिँदै डीएसपी खडकाले साउन ४ बाट सुरु गरेको अप्रेसन मनकामनाको पहिलो चरण सम्पन्न भएको जानकारी दिए । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर यो ८ महिनामा भएका घटनाको सार्वजनिक गरेको हो ।

यी ८ महिनामा गुण्डागर्दी नियन्त्रण, सामाजिक अपराधका घटना, अवैध लागूऔषधरचोरी निकासी, अपराध अनुसन्धान तथा नियन्त्रणमा उपलव्धि भएको उनले बताए । यो अवधिमा १ सय १५ मुद्दा दर्ता, ९ जना फरार भएका व्यक्ति पक्राउ, घरेलु हिंसाका १७, जबरजस्ती करणीमा ७, जबरजस्ती करणी उद्योगमा ४, बहुविवाहमा २ मुद्दा दर्ता भएका छन् ।

विभिन्न स्थानबाट २ थान भरुवा बन्दुक सहित एक जना पक्राउ, ४८ जनालाई सार्वजनिक मुद्दा, जबरजस्ती करणी गर्ने ८ जना, चोरी मुद्दाका ८, भालुको पञ्जासहित १, गौबध मुद्दामा ५ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको उनले बताए ।

३ हजार ५ सय लिटर जाड, ७ हजार ५ सय लिटर रक्सी, ९ हजार २ सय लिटर सरुवा र घरेलु मदिरा निर्माणमा प्रयोग गरिने सामग्री पनि नियन्त्रण गरिएको छ । विभिन्न स्थानमा ५ सय १७ बोट गाँजा फँडानी गरेको उनले बताए । प्रहरी र जनतासँगको सहकार्यमा सञ्चालन गरिएको यस्ता प्रकारका कार्यक्रम प्रभावकारी देखियो, उनले भने, ‘प्रहरीलाई थप सूचनाको स्रोत र अपराध अनुसन्धान लगायत सामाजिक सुरक्षाका क्षेत्रमा सहज भयो ।’

सामाजिक क्षेत्रमा सबै प्रकारका गुनासाहरू प्रहरीलाई जानकारी हुने वातावरण मिल्यो, उनले भने, ‘प्रहरीको कार्य क्षेत्रमा नयाा आयामको सुरुवात भएको महसुस गरेका छौँ।’ यो जिल्लालाई अपराधरहित जिल्ला बनाउन अप्रेसन मनाकामनाले उष्कृष्ठ भूमिका खेलेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयमा ४ सय ८६ दरबन्दी भए पनि ३ सय ८३ मात्र कार्यरत भएको बताए । यहाँ जिल्ला प्रहरीसहित इलाका प्रहरी ३ र ३० प्रहरी एकाइ रहेको बताए । यी सबैमा अप्रेसन मनकामना चलाइएको थियो । पर्याप्त सुरक्षाकर्मी भए आपराधिक क्रियाकलाममा कमी आउने उनको भनाइ छ । दरबन्दीअनुसारका कर्मचारी नहुँदा समस्या भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement