काठमाण्डु-एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २१औं संस्करणले इन्स्योरेन्स पार्टनरका रूपमा बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिको साथ पाएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा अवार्ड कार्यक्रम आगामी भदौ २८ गते नेपाल एकेडेमी भवन कमलादीमा हुने भएको छ । सोही अवार्डका लागि सहप्रायोजकका रूपमा युनाइटेड अजोड इन्स्योरेन्स रहने भएको हो ।
एनएसजेएफ र युनाइटेड अजोड इन्स्योरेन्स प्रालिबीच यस सम्बन्धमा प्रायोजन सम्झौता भएको छ । सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले हस्ताक्षर गरे ।
सम्झौता अनुसार मञ्चका सम्पूर्ण सदस्यहरूले जनही पाँच लाख बराबरको स्वास्थ्य बिमा पोलिसी पाउनुका साथै कार्यक्रम आयोजना गर्नका लागि नगद सहयोग पनि गर्ने छ ।
पल्सर स्पोर्ट्स अवार्ड २०८० मा कुल विधामा सम्मानित हुनेछन् । वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि सार्वजनिक हुन बाँकी छ ।
त्यसबाहेक टिम अफ दी इयर, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ । अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक भइसकेको छ ।
पिपल्स च्वाइसमा क्रिकेटका गुलसन झा, फुटबलकी प्रीति राई, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट र रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा परेका छन् ।
ई–सेवा, पल्सर स्पोर्टस अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा जारी भोटिङ भदौ २७ गते राति १२ बजेसम्म खुला रहनेछ ।
यसपटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेतालाई जनही एक लाख रूपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
प्रतिक्रिया