श्रीलङ्का आक्रमण : प्रहरीको गल्तीले हमलाकारी भन्दै अभियन्ताको तस्बिर सार्वजनिक गरेपछि…


एजेन्सी – श्रीलङ्काली प्रहरीले आइतवार भएको आक्रमणमा संलग्न भएको शङ्कामा खोजी गरिरहेको सूचीमा भूलवश एक जना अमेरिकी महिलाको तस्बिर प्रकाशन गरेकोमा माफी मागेको छ। अमारा मजिद मुस्लिम लेखिका हुन् जसले मुस्लिममाथिको पूर्वाग्रहहरू चिर्न द फरेनर्सु पुस्तक लेखेकी छन्। उनले ट्वीटमा लेखेकी छन् श्रीलङ्काली प्रहरीले मलाई श्रीलङ्काको एक आइएस इस्टर आक्रमणकारीको रूपमा गलत पहिचान दिएको छ।

आइतवार चर्च र होटलहरूमा भएको आत्मघाती आक्रमणमा २५३ जनाको मारिनुको साथै सयौँ घाइते भएका थिए। अमारा मजिदको एउटा तस्बिर श्रीलङ्काली प्रहरीले खोजी गरिरहेको शङ्कास्पद व्यक्तिको रूपमा जारी गरेको थियो। उनको तस्बिर प्रयोग गरिएको शंकास्पद व्यक्तिको नाम भने फाथिमा खादिया हो।

मजिद अमेरिकाको बाल्टिमोर निवासी हुन् र उनका बुवाआमा श्रीलङ्काली हुन्। यो निश्चितरूपमा नितान्त गलत कुरा हो र खुलेर भन्नुपर्दा जुन हिसाबले हाम्रो समुदायलाई निगरानीको विषयले जसरी असर परेको छ त्यो बेला मलाई थप गलत आरोप र छानबिन चाहिएको छैन, मजिदले लेखेकी छन्। आइन्दा कसैको परिवार र समुदायलाई अतिक्रमण हुनसक्ने खतरा भएका यस्ता सूचना जारी गर्दा थप सचेत हुनुहोला।

मजिद १६ वर्षको उमेरमा मुस्लिम र गैरमुस्लिम महिलालाई हिजाब भनिने टाउको छोप्ने पहिरन लाएर आफ्नो अनुभव सामाजिक सञ्जालमा बाँड्न उत्प्रेरित गर्ने द हिजाब प्रोजेक्टको स्थापना गरेर चर्चामा आएकी थिइन्। सन् २०१५ मा उनी बीबीसीको असाधारण १०० महिलाहरूको सूचीमा थिइन्। डोनल्ड ट्रम्पले राष्ट्रपतिका लागि चुनावी अभियान चलाउँदै गर्दा उनले ट्रम्पलाई अमेरिकी नागरिकहरूको डर र उन्मादलाई भजाउने दुर्जनु भन्दै खुलापत्र लेखेकी थिइन्।

मैले मेरो जीवनको लक्ष्य नै तिमीजस्ता मानिसले उत्पन्न गराउने हेयभावलाई मेटाउने र मुस्लिमहरूका सम्बन्धमा रहेका पूर्वाग्रह हटाउने राखेकी छु, उनले त्यतिबेला लेखेकी थिइन्। राजधानी कोलम्बोमा हजारौं प्रहरी र गुप्तचर संस्थाका अधिकारीहरूले हमलाकारीको खोजी तीव्र पारेका छन्। श्रीलंकाले अहिलेसम्म ७० भन्दा बढी शंकास्पद मानिसहरूलाई नियन्त्रणमा लिसकेको छ।

गत आइतबार होटल र चर्चहरूमा भएको श्रृंखलाबद्ध आक्रमणपछि पनि आत्मघाती आक्रमणको खतरा नटरेको प्रधानमन्त्री रणिल विक्रमासिङ्घेले जनाएका छन्। घटनामा सुरूमा साढे तीन सय मान्छे मारिएका भनिए पनि साढे दुई सय हाराहारी भएको प्रहरीले जनाएको छ। शवहरू छरपस्ट भएकाले गणनामा अलमलिएको उनीहरूले बताएका छन्।

बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस
Advertisement