श्रीलंका आक्रमणमा आइएसको संलग्नता,देशको सुरक्षा प्रणाली फेर्ने राष्ट्रपतिको घोषणा


एजेन्सी – श्रीलंकामा क्रिश्चियन धर्मावलम्बीले इस्टर पर्व मनाइरहँदा श्रीलंकाका चर्च तथा होटलहरुमा आइतवार बम आक्रमण हुँदा अहिलेसम्म कम्तिमा ३२१ जनाको मृत्यु भएको छ,भने पाँच सयभन्दा बढी घाइते भएका छन्।कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चका साथै कोलोम्बोस्थित होटल सांग्रिला र सिनामोन ग्रान्ड होटलमा विस्फोट भएको थियो ।

थप आक्रमण हुन नदिन तथा शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन सुरु गर्न देशमा मंगलबार सङ्कटकाल समेत घोषणा गरिएको थियो । श्रीलङ्कामा ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान जाने गरी भएका शृङ्खलाबद्ध विस्फोटनपछि मङ्लवार राष्ट्रिय शोक मनाएको छ। शृङ्खलाबद्ध बम आक्रमण इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) को संलग्नता रहेको हुन सक्ने बताइएको छ ।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले आइतबारको आक्रमण विदेशी बिद्रोही समूहको सहयोग बिना सम्भव नरहेको र यसका लागि आइएसले सहयोग गरेको हुन सक्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको थियो । आइएसले आक्रमणमा आफ्नो संलग्नता रहेको दाबी गरेको छ तर उसले त्यसको प्रमाण भने अहिलेसम्म दिएको छैन । आक्रमणमा स्थानीय समूह नेशनल तौहीद जमातको संलग्नता रहेको आशंका छ तर उसलाई आइएसले सहयोग गरेको हुन सक्ने प्रधानमन्त्रीको भनाई छ ।

आक्रमणपछि श्रीलंकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले टेलिभिजनमार्फत् राष्ट्रको नाममा सम्बोधन गर्दै देशको सुरक्षा निकायको पूरै पुनर्संरचना गरिने बताएका छन्।टेलिभिजनमार्फत् बोल्दै उनले २४ घन्टाभित्र देशका सुरक्षा र प्रतिरक्षा फौजका प्रमुखहरूको फेरबदल हुने जानकारी दिए। उनले सुरक्षा खतराबारेका आफूलाई कुनै जानकारी नदिइएको बताए।

विस्फोटनका घटनाबारेका पूर्वसूचनाहरू छलफलमा ल्याउन नसकेकाहरू माथि कारबाही गरिने बताए। उनको यो भनाइसँगै त्यहाँ २४ घण्टाभित्र केही उच्च सुरक्षा अधिकारीहरूलाई सरकारले परिवर्तन गर्नसक्ने ठानिएको छ। श्रीलङ्कामा गृहयुद्धताका अपनाइएका कतिपय सुरक्षा मापदण्डहरूलाई सरकारले फेरि अपनाउन चाहेको र जिल्लास्तरिय सुरक्षा समितिहरू बनाउन लागेको भन्ने खबरहरू पनि आइरहेका छन्।

सन् २००९ मा गृहयुद्ध समाप्त भएपछि श्रीलङ्कामा केही छिटपुट हिंसाका घटनाहरू हुने गरेका थिए।अल्पसङ्ख्यक तमिलहरूका लागि छुट्टै राज्य माग गर्दै २६ वर्ष युद्ध गरेको तमिल टाइगर्सलाई सरकारी फौजले हराएपछि त्यहाँको गृहयुद्ध सकिएको थियो।उक्त गृहयुद्धमा ७० हजार देखि ८० हजार मानिसहरू मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement