श्रीलंकामा राजनीतिक संकट : सभामुखमाथि खुर्सानीको धुलो र बोतल प्रहार


एजेन्सी – सभामुख कारु जससूर्याले राजपाक्षेविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्तावमा शुक्रबार मतदान गर्न खोजेपछि श्रीलंकाली संसदमा नवनियुक्त प्रधानमन्त्री महिन्दा राजपाक्षेका समर्थक सांसदहररूले सभामुखमाथि पिसेको खुर्सानी र पानीको बोतल प्रहार गरेका छन्।

शुक्रबार सबेरै राजपाक्षे समर्थकहररूले सभामुखको कुर्सीलाई घेरा हाल्दै बिहीबार चक्कु लिएर संसदभवनमा आउने विक्रमासिंघेका दलका दुई सांसदलाई पक्राउ गर्न माग गरेका थिए। राजपाक्षेका दल पोदुजाना पेरेमुला पार्टीका एक सांसद सभामुख जयसूर्याको कुर्सीमा बसेका थिए भने उनलाई २० सांसदले घेरेका थिए। त्यसले संसदको प्रक्रिया सुरु गर्ने ढिलो भएको थियो।

राजपाक्षेका समर्थकहरूले जयसूर्याका प्रहरीले अर्को कुर्सी ल्याउन नदिने कोसिस गरेका थिए। एक सांसदले सो कुर्सीबाट कुसन निकालेर दुवै सभामुख र उनलाई सुरक्षा दिइरहेको प्रहरीमाथि पनि प्रहार गरेका थिए। प्रहरीको उपस्थितिमा सभामुख जयसूर्याले कुन सांसदको कसलाई समर्थन छ भनेर नाम पढ्न थालेपछि राजपाक्षेका समर्थक सांसदहररूले किताब, पिसेको खुर्सानी र पानीको बोतल प्रहार गरेका थिए।

यो घटना भएपछि शुक्रबार राजपाक्षे र उनको सरकारविरुद्ध मतदान भएको छ। सभामुखले अपदस्थ प्रधानमन्त्री विक्रमासिंघेको समर्थनमा २ सय २५ सदस्यीय संसदमा १ सय२२ जनाको समर्थन रहेको बताएका छन्।कात्तिक ९ को राति राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement