श्रीलंकाली राष्ट्रपतिले भने : रअले मेरो हत्या गर्न खोजिरहेको छ


काठमाडौं – श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ ले आफ्नो हत्या गर्ने षडयन्त्र रचिरहेको आरोप लगाएका छन्।

रअले आफ्नो हत्या योजना बनाएको आशंका सिरीसेनाले मंगलबार राजधानी कोलम्बोमा क्याविनेट बैठकमा व्यक्त गरेको ‘द हिन्दू’ को एक समाचारमा उल्लेख छ ।
रअकै सहयोगमा चुनाव जितेको आरोप लागेको सिरिसेनाको यो बयानले भारतसँग उनको सम्वन्धमा तिक्तता आएको संकेत गर्छ ।

‘प्रधानमन्त्री नरेन्द्र मोदी रअको यो योजनाबारे जानकार नहुन सक्छन्,’ मन्त्रिपरिषदमा सिरिसेनाको भनाइ उद्धृत गर्दै भारतीय पत्रिका द हिन्दुले बुधबार लेखेको छ, ‘सिआइएका यस्तै कदमबारे अमेरिकी राष्ट्रपति ट्रम्प पनि जानकार नहुन सक्छन्।’ ‘राष्ट्रपतिले त्यसो भन्दा हामी स्तब्ध भयौं,’ एक मन्त्रीको भनाइ हिन्दुले उद्धृत गरेको छ। बैठकमा सिरिसेनाले ‘आफ्नो हत्याको षडयन्त्र भैरहेको र त्यसमा श्रीलंकाको सरकार उदासिन रहेको’ भन्दै असन्तुष्टी पोखेका थिए।

श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमणको केही दिनअघि राष्ट्रपति सिरिसेनाले मन्त्रीपरिषद बैठकमै यस्तो दाबी गरेपछि मन्त्री र सरकारका अधिकारीहरू स्तब्ध भएका हुन्।

तीन वर्षअघि तत्कालीन सरकारमा मन्त्री रहेका सिरिसेना निर्वाचनको ठिक अघि नयाँ पार्टी गठन गरी महिन्दा राजापाक्ष विरुद्ध राष्ट्रपतिका उम्मेदवार बनेका थिए।
आफ्नै पार्टीका नेताबाट चुनावमा पराजित भएपछि पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले ‘कोलम्बोको सत्ता परिवर्तनमा भारतीय गुप्तचर संस्था रअको भूमिका रहेको’ आरोप लगाएका थिए।

आफुले चीनसँग मिलेर पूर्वाधार विकासका परियोजना अगाडि बढाएपछि दिल्लीले कोलम्बोको सत्ता परिवर्तनमा भूमिका खेलेको राजापाक्षले बताउँदै आएका छन्। सिरिसेनाले चीनको लगानीमा हिन्द महासागरको चटगाउँमा बन्दै गरेको सामुद्रिक बन्दरगाह रोक्न सुरुमा प्रयास गरेपनि पछि त्यसलाई केही परिमार्जनसहित निरन्तरता दिएका थिए।

मन्त्रीपरिषद बैठकमै रअले आफ्नो हत्या षडयन्त्र रचिरहेको’ आरोप लगाएर सिरिसेनाले दिल्लीसँग आफ्नो सम्बन्ध निकै चिसिएको खुलासा गरेका छन्। गत महिना श्रीलंकामा पूर्व राष्ट्रपति राजापाक्षको हत्या षडयन्त्र भइरहेको चर्चा पनि भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement