श्रीलंकाका राष्ट्रपति सिरिसेनाद्वारा पुनः उम्मेदवार नहुने घोषणा


एजेन्सी – श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति पदको निर्वाचनमा पुनः उम्मेदवार नहुने घोषणा गरेका छन् ।

चुनावका लागि आइतबार भएको उम्मेदवारी दर्ताका क्रममा श्रीलंकाको राजनीतिमा निकै प्रभावशाली महिन्दा राजपाक्ष परिवारका दुई सदस्यले उम्मेदवारी दिएका छन् । श्रीलंकामा आगामी नोभेम्बर १६ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आइतबार दिउँसोसम्मका लागि तोकिएको समयसीमाभित्र ४१ जनाले उम्मेदवारी दिएको जनाएको छ । उम्मेदवार हुन दर्ता शुल्क समेत बुझाउनुभएका राष्ट्रपति सिरिसेनाले अन्तिम समयमा राष्ट्रपति पदका लागि उम्मेदवारी नदिएको निर्वाचन आयोगको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति सिरिसेनाको श्रीलंका फ्रिडम पार्टी ९एसएलएफपी० का प्रवक्ताले पनि राष्ट्रपतिले पुनः उम्मेदवारी दिन अस्वीकार गरेकाे पुष्टी गरे । गत वर्ष प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पदच्यूत गरी पूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि उनी विवादमा तानिएका थिए । तर श्रीलंकाली सर्वोच्च अदालतले सिरिसेनाको कार्यलाई अवैधानिक बताउँदै विक्रमासिंघेलाई नै पुनर्वहाली गर्न आदेश दिएका थिए ।

राजपाक्षका दुई जना दाजुभाइ गोटाभाया र चमलले उम्मेदवारी दिनुभएको छ । यस्तै विक्रमासिंघेको युनाइटेड नेसनल पार्टीका उपनेता सजिथ प्रेमदासाले पनि उम्मेदवारी दिएका छन् ।

श्रीलंकाको वर्तमान राजनीतिक परिदृश्यमा मुलुकको पूर्व रक्षामन्त्री समेत रहेका गोटाभाया निकै शक्तिशाली उम्मेदवारी मानिएका छन् । तर उनीमाथि धेरैवटा भ्रष्टाचारका आरोपहरुका साथै श्रीलंकाली नागरिक रहेनरहेको बारेमा विवाद छ । उनले सन् २००३ मा लिएको अमेरिकी नागरिकता त्यागेको घोषणा गररेका छन्  ।

तर उनको योग्यतामाथि अझै पनि प्रश्न उब्जिएको छ । त्यहीकारण राजपाक्ष परिवारका तर्फबाट संसदका पूर्व सभामुख समेत रहेका चमललाई पनि उम्मेदवार बनाइएको छ । चुनावका लागि करिब १ करोड ६० लाख जनता मतदाता सूचीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement