श्रीलंका आक्रमण :मध्यरातदेखि संकटकाल लगाएर मृतकको सम्झनामा राष्ट्रिय शोक


एजेन्सी – श्रीलंकामा क्रिश्चियन धर्मावलम्बीले इस्टर पर्व मनाइरहँदा श्रीलंकाका चर्च तथा होटलहरुमा आइतवार बम आक्रमण हुँदा अहिलेसम्म कम्तिमा ३१० जनाको मृत्यु भएको छ,भने पाँच सयभन्दा बढी घाइते भएका छन्।कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चका साथै कोलोम्बोस्थित होटल सांग्रिला र सिनामोन ग्रान्ड होटलमा विस्फोट भएको थियाे ।

थप आक्रमण हुन नदिन तथा शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन सुरु गर्न देशमा सङ्कटकाल घोषणा गरिएको छ। श्रीलङ्कामा ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान जाने गरी भएका शृङ्खलाबद्ध विस्फोटनपछि मङ्लवार (आज)  राष्ट्रिय शोक मनाइँदैछ। आक्रमणको अनुसन्धानका लागि ३ सदस्यीय समिति बनाइएको छ। उक्त समितिलाई राष्ट्रपतिसमक्ष जाँचबुझ रिपोर्ट बुझाउन २ साताको समय दिइएको छ।

श्रीलंकाले आइतबार भएका शृङ्खलाबद्ध विस्फोट अन्तर्रा्ष्ट्रिय सञ्जालको सहयोगमा भएको दाबी गरेको छ। सरकारका प्रवक्ता रजित सेनारत्नेले विदेशीको सहयोग बिना हमला नभएको दाबी गरेका हुन्। ‘हामीलाई लाग्दैन कि यो देशमा सीमित एउटा समूहका मानिसहरूले मात्रै हमला गराएका हुन्,’ उनको भनाइ छ, ‘एउटा अन्तर्रा्ष्ट्रिय समूह छ जसको सहयोग विना ती हमलाहरू गराउन सम्भव थिएन।’

यसअघि श्रीलंकाली सरकारले स्थानीय मुस्लिम समूह नेसनल तौहिद जमात(एनटीजे)को हात रहेको दाबी गरेकाे थियो। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हमलाकारीहरूको अन्तर्रा्ष्ट्रिय सम्बन्धबारे पत्ता लगाउने कार्यमा सघाउन विदेशी सहयोगका लागि अपील गर्ने बताइएको छ। घटनामा परेर ज्यान गुमाएका अधिकांश व्यक्तिको मङ्गलवार  (आज)श्रीलङ्कामा अन्तिम संस्कार हुँदैछ।

सुरक्षाकर्मीहरूले विभिन्न स्थानमा राखिएको विस्फोटक पदार्थ फेला पारे। त्यसपछि थप आक्रमण नहोस् भनेर सरकारले सङ्कटकाल लगाउने निर्णय र्गयो। सोमवार मध्यरातदेखि सङ्कटकाल लागु भएपछि सुरक्षाकर्मीहरूले विशेष अधिकार पाएका छन्। सङ्कटकालको अवधिमा सुरक्षा निकायका अधिकारीहरूले अदालतको आदेशबिनै शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन गर्न सक्नेछन्। देश शोकमग्न हुँदा श्रीलङ्काको उच्च नेतृत्वमा भने केही विवाद देखिएको छ।

गत वर्ष अक्टोबरमा राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रनिल विक्रमसिङ्घलाई पदमुक्त गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि श्रीलङ्कामा संवैधानिक सङ्कट उत्पन्न भएको थियो। तर सर्वोच्च अदालतले विक्रमसिङ्घलाई पुनर्स्थापित गरिदियो। त्यसयता राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी बैठकहरूमा सहभागी गराउने गरेका छैनन्।

सरकारका प्रवक्ता राजित सेनारत्नेका अनुसार गुप्तचर निकायहरूले आइतवारको आक्रमण गराउने जिहादी समूहबारे एप्रिल ४ देखि नै चेतावनी दिँदै आएका थिए। त्यसमा आधारित भएर रक्षा मन्त्रालयले प्रहरी प्रमुखलाई जानकारी गराएको थियो। उनका अनुसार विदेशी गुप्तचर निकायले न्याश्नल तौहिद जमात नामक अतिवादी समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए। अमेरिकी सञ्चारमाध्यमहरूले श्रीलङ्काका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिका र भारतले सम्भावित घटनाबारे चेतावनी दिएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement