स्टाफ कलेज र सैनिक विद्यालय यसरी बनाइँदैछ पारदर्शी !


काठमाडौ‌- नेपाली सेनाद्वारा सञ्चालित सैनिक आवासीय महाविद्यालयमा भर्ना प्रक्रियामा पारदर्शीताको संकेत देखिएको छ ।
सेनाको विद्यालयमा सैनिक र गैर सैनिकका छोराछोरि पढाउनुपर्दा भनसुन जस्ता अभ्यासलाई निरुत्साहित गर्न नेपाली सेनाले कार्यविधि नै तयार पारेको छ ।

यस अघिका वर्षहरुमा भर्ना गर्दा भनसुन बढी चल्ने आशंकाका विच सेनाको नयाँ कार्यविधिले त्यस्ता अभ्यास हटाएर पारदर्शीता देखाउने प्रयास गरेको छ ।

सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, ‘हामीले भर्ना प्रक्रियामा पारदर्शीता ल्याउन प्रयास गरेका छौं । यसले हामीलाई गुणस्तरीय विद्यार्थी उत्पादन गर्न मद्धत पुग्नेमा विश्वास लिएका छौं । ’

उनले शिक्षा क्षेत्रमा गुणस्तरीयता ल्याउन विद्यालयले कार्यविधि अनुसार अक्षरस पालना गर्दै जाने बताए ।
सैनिक कल्याणकारी कोषबाट देशका विभिन्न क्षेत्र धनगढी, सुर्खेत, पोखरा, चितवन, भक्तपुर, इटहरी, गुहेश्वरी र बाँसबारी गरि नेपाली सेनाको ८ वटा विद्यालय सञ्चालनमा छन् ।

यी सबै क्षेत्रका विद्यालयमा भर्ना हुन सैनिक र गैर सैनिकका छोराछोरिको प्रतिस्पर्धा हुने गर्छ । यसअघि भनसुनका आधारमा पनि धेरै विद्यार्थीको भर्ना प्रभावित हुने गरेको आशंका गरिँदै आएको थियो । २०७४ को फागुनदेखि भर्ना प्रक्रिया अझ पारदर्शी, स्वच्छ र स्वस्थ्य हुने सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए ।

‘२०७४ को फागुनमा हामीले ६ कक्षामा प्रवेश परीक्षा पास गर्नेलाई मात्र भर्ना गर्यौं’ उनले भने, ‘परीक्षा कसरी स्वस्थ्य बनाउने भन्ने कार्यविधि अनुरुप नै हामी अगाडि बढेका छौं । ’

यसैगरि केही समय अगाडि स्टाफ कलेजमा परीक्षा पनि पारदर्शी ढङ्गबाट गरिएको उनले बताए । परीक्षाको अनुगमन सीसीटीभी बाट गरिएको थियो ।

‘यसको मुख्य उदेश्य सबै व्यवस्थालाई पारदर्शी बनाउने र कार्यविधिको पालना गरेर गुणस्तरीय शिक्षालाई जोड दिने हो । ’ प्रवक्ताले भण्डारीले भने । पहिलाको व्यवस्था अनुसार परीक्षाको नतिजा सेनाका प्रमुखकोमा जाने र मात्र प्रकाशित हुने अभ्यास थियो भने अहिले नतिजा प्रकाशित गरेपछि मात्र जानकारी दिने व्यवस्था सुरु भएको छ ।

विद्यालयको प्रवेश परीक्षामा प्रश्नपत्र लिक हुने, भनसुन चल्ने जस्ता आशंका विचमा परीक्षाको नतिजा छिट्टै निकाल्ने, परीक्षाको नतिजा प्रकाशित गरेपछि मात्र प्रधानसेनापतिलाई जानकारी गराउने जस्ता कार्यविधिले नेपाली सेनामा पारदर्शिता बढ्ने संकेत देखिएको हो ।
यसैगरि अब नेपाली सेनामा शारीरिक व्यायमलाई प्रभावकारी रुपमा अगाडि बढाउने कार्यविधि पनि लागु भएको छ ।

सेनाको बडि मास इन्डेक्स अर्थात विएम आईलाई नियमति गर्नुपर्ने कार्यविधि तयार गरिएको छ । यसमा व्यक्तिको उचाइ, तौल, उमेर, लिंग आदिको आधारमा तन्दुरुस्ती मापन गरिन्छ ।

सेनाका प्रवक्ता भण्डारीले यस्तो कार्यविधि लागु भएको जानकारी दिँदै यसले सेनामा हुनुपर्ने तन्दुरुस्तीको गुण विकाश गर्ने बताए ।
कार्यविधि अनुसार यदि सेनाका कर्मचारीले शारीरिक अभ्यास नियमित नगरेमा सरुवा बढुवा, विदेश भ्रमण, शैक्षिक तालिम तथा विभिन्न अवसरहरुमा सहभागी हुन समस्या पर्नेछ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हाल सैनिक तर्फ ५ हजार ८ सय १३ जना, गैह्र सैनिक तर्फका ३ हजार १ सय ५१ जना र विदेशी ६ जना गरी जम्मा ८ हजार ९ सय ७० जना छात्र–छात्रा सेनाको शिक्षण संस्थामा अध्ययन गर्दै आएका छन् । महाविद्यालयमा बी.एस्सी. तथा स्नातक तहमा बी.बी.ए. कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सेनाको यस्तो अभ्यासले गुणस्तरीय शिक्षा र गुणस्तरीय विद्यार्थी उत्पादनमा योगदाग पुग्ने देखिन्छ भने समाजमा पनि यसको प्रभाव पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement