काठमाण्डु – अख्तियारको अनुसन्धानमा रहेका नेपाल धितोपत्र बोर्ड (सेबोन) का विवादास्पद अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफूविरुद्ध मुद्दा दर्ता हुनुअघि नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने तयारी गरेका छन् ।
अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने सम्बन्धमा १ एजेन्डा राखेर बिहीबारका लागि बोर्ड सञ्चालक समितिको बैठक बोलाएको बोर्ड स्रोतले जानकारी दियो ।
उनी अख्तियारले मुद्दा दर्ता गर्नुअघि नै लाइसेन्स वितरण गर्ने तयारीमा रहेको उच्च स्रोतले बताएको छ । अख्तियारको छानबिनको दायरामा रहेका अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया सुरु गर्ने विषयमा एकल एजेण्डाका साथ बिहीबार साँझ ५ बजे बोर्ड सञ्चालक समिति बैठक बोलाएका छन् ।
उनले यसअघि पनि नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउने एजेण्डा राखेर बैठक बोलाएका थिए । तर त्यतिखेर उनको मिसन पूरा नभएपछि अहिले जसरी पनि लाइसेन्स वितरण प्रक्रिया पास गराउने तयारीमा छन् ।
सरकारले गठन गरेको उच्चस्तरीय अर्थतन्त्र सुधार आयोग र बजेटले समेत भएकै स्टक एक्सचेन्ज नेप्सेको पुनःसंरचना गर्नुपर्नेमा जोड दिए पनि बिचौलियाको डिजाइनमा अर्को स्टक एक्सचेन्ज लाइसेन्स बाँड्न लागिएको हो । संसद्मा विपक्षी दलहरूले समेत नयाँ स्टकमा अर्बौंको खेल भएको भन्दै तत्काल रोक्न माग गरिरहेका बेला बोर्ड प्रमुख श्रेष्ठ भने जसरी पनि लाइसेन्स बाँड्ने खेलमा लागेका छन् ।
बोर्डमा रहेका ७ जना सञ्चालकहरूले यो निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै यसअघि बैठक बहिष्कार गर्दै आएका थिए । तर भोलिको बैठकमा को जाने/नजाने भन्ने टुंगो लागेको छैन ।
बोर्डमा अर्थ मन्त्रालयबाट सहसचिव महेश बराल, कानून मन्त्रालयबाट सहसचिव विनोदकुमार भट्टराई, नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल, इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्टस् अफ नेपालबाट उपाध्यक्ष अनिल बहादुर सारुमगर, नेपाल उद्योग वाणिज्य महासंघबाट महानिर्देशक गोकर्णराज अवस्थी र विज्ञ सदस्य भोलानाथ ढुंगाना रहेका छन् ।
श्रेष्ठमाथि ऊर्जा उत्पादकहरूसँग आईपीओ निष्कासनका लागि बिचौलियाहरूमार्फत कमिसन मागेको आरोप छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले श्रेष्ठमाथि ऊर्जा उत्पादकहरूसँग कमिसन मागेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धन आयोगमा उजुरी दिएको छ ।
इप्पानको उजुरीपछि अख्तियारले बैशाख २४ गते धितोपत्र बोर्डमा छापा मारेर आईपीओ निष्कासन सम्बन्धी कागजात लगेको थियो । यस्तै अख्तियारले अध्यक्ष श्रेष्ठलाई बोलाएर पनि बयान लिएको छ । संसद्मा पनि बोर्ड अध्यक्ष श्रेष्ठमाथि छानबिन गर्नुपर्ने माग उठिरहेको छ ।
यस्तो विवादमा फसेका बेला अध्यक्ष श्रेष्ठ लाइसेन्स बाँडिछाड्ने मिसनमा रहेको स्रोतको दाबी छ । लाइसेन्सका लागि नेसनल स्टक एक्सचेन्ज, हिमालयन स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले निवेदन दिएका छन् । तर श्रेष्ठले हिमालयन स्टकलाई लाइसेन्स दिन जोडबल गरिरहेका छन् । यसबारेमा श्रेष्ठसँग काठमाण्डुपाटीले कुरा गर्न खोज्दा उनले फोन उठाएनन् ।
प्रतिक्रिया