विद्यार्थी राजनीतिमा अनेरास्ववियुको दबदबा : ५ संगठनको गठबन्धनलाई हराउँदै एक्लै विजयी

विद्यार्थी राजनीतिमा अनेरास्ववियुको दबदबा : ५ संगठनको गठबन्धनलाई हराउँदै एक्लै विजयी


काठमाण्डु – विद्यार्थी राजनीतिमा दबदबा कायम गर्दै आएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले दैलेखको नारायण क्याम्पसको स्ववियु निर्वाचनमा ५ संगठनको गठबन्धनलाई हराउँदै एक्लै जितेको छ ।

शुक्रबार भएको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुविरुद्ध रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लनिकट नेकपा र राप्रपानिकट विद्यार्थी संगठन पराजित भएका छन् ।

शनिबार सम्पन्न मतगणनामा ५ दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अनेरास्ववियुका हिमबहादुर बस्नेत ६ मतले सभापतिमा निर्वाचित भएका छन् । उनले १६६ मत पाएर सभापति विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेविसंघका उम्मेदवार विष्णुप्रसाद कोइरालाले १५७ मत पाएका छन् ।

सचिवमा अनेरास्ववियुका फिलिप सिंह १९२ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका टेकराज बुढाले १२७ मत मात्रै पाएका छन् ।

स्ववियुको कोषाध्यक्षमा अनेरास्ववियुकी शुष्मा शाही १७२ मतसहित विजयी हुँदा प्रतिस्पर्धी गठबन्धनबाट अखिल क्रान्तिकारीका उम्मेदवार भुवनप्रसाद पाण्डेले १४१ मत मात्रै पाएका छन् ।