काठमाण्डु – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आचारसहिंता जारी गरेको छ ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले जारी गरेको ‘स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका’ अनुसार आचारसंहिता जारी गरिएको जानकारी दिए । उनका अनुसार आचारसंहितामा क्याम्पस हाताभित्र स्ववियु निर्वाचनलाई प्रभाव पार्ने गरी सरकारी कोषबाट तलबभत्ता लिने कुनै पनि व्यक्ति वा संस्थाका कार्यक्रम गर्न नपाइने जनाइएको छ ।
आचारसंहिताअनुसार क्याम्पसको पर्खालको बाहिर, भित्रपट्टि र क्याम्पस परिसरमा निर्वाचन सम्बन्धी भित्तेलेखन, तुल, फ्लेक्स तथा कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने, विश्वविद्यालय र यसअन्तर्गतका क्याम्पसलाई हानी–नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार र अन्य गतिविधि गर्न पाइने छैन । क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका संघ, संगठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम निर्वाचन समितिले सञ्चालन गर्न सक्ने र कार्यक्रममा एकअर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्य बोल्न नपाइने उल्लेख छ ।
आचारसंहितामा प्रत्येक संघ, संगठन, समूह र स्वतन्त्र उम्मेदवारले निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली भएको पर्चा मात्र प्रचारप्रसार गर्न पाइने उल्लेख छ । निर्वाचनका बेला क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द, हड्ताल र मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको प्रसारप्रसार गर्न नपाइने आचारसंहितामा व्यवस्था गरिएको छ ।
निर्वाचनमा विक्रम संवत् २०५३ फागुन २८ गतेपछि जन्मिएका विद्यार्थी उम्मेदवार हुन पाइने छैन । देशभरका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा एकैदिन मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरी निर्वाचन हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया