प्रध्यानाध्यापकको कुटाईबाट छात्रा घाइते


महेन्द्रनगर –भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् ।

कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ ।

छात्रा नाथको टाउकोमा चोट लागेको छ । छात्राका बुबा पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रधानाध्यापक विष्टले कुटपिट गरी घाइते बनाएको बताए ।

‘छोरी विद्यालय गएकी थिइन्’, उनले भने, ‘घर आउँदा बेहोस भइन् । अस्पताल ल्याएका छौँ, टाउकामा चोट लागेको छ ।’ छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले छात्रामाथि कुटपिट गरेका प्रअलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताए ।

घटनाबारे विद्यार्थी संघसंगठन, महिला अधिकारकर्मीले विरोध जनाएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग अघि सारेका छन् ।

अनेरास्ववियू कञ्चनपुरका नेता रमेश पन्तले घटना दुःखद् भएको भन्दै प्रअमाथि कारबाहीको माग गरे। महिला अधिकारकर्मी शारदा चन्द, मीना भण्डारी र निर्मला भट्टसहितका अधिकारकर्मीले महिला, बालबालिकामाथि भइरहेका घटनाको भत्र्सना गर्दै दोषीउपर कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement