बोक्सी भन्दै कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीलाई भेटे विद्यार्थी नेताहरूले


काठमाडौं– मुख्य तीन दल निकट विद्यार्थी संगठनले कैलालीमा बोक्सी भन्दै किशोरीमाथि कुटपिट भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीका प्रतिनिधिले शनिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेर घटनाका दोषीलाई कारबाही एवं पीडितलाई उचित न्याय र परिपुरणको व्यवस्था गर्न माग गरेका हुन्।

विद्यार्थी संघसंगठनको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले जघन्य अपराधका दोषीलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए।

गलत क्रियाकलापविरुद्ध सरकार र प्रतिपक्षी नभनी प्रमुख दलका सबै विद्यार्थी संगठन एउटै आवाज लिएर मन्त्रालयमा आएको देख्दा अपराधविरुद्ध लड्न आफूलाई थप ऊर्जा प्राप्त भएको उनको भनाइ छ।

प्रमुख तीन विद्यार्थी संगठनले पछिल्ला दिनमा महिला तथा बालिकामाथिको ज्यादती बढ्दै गएको भन्दै त्यसलाई रोक्न ठोस पहल गर्नुपर्ने मागसहित गृहमन्त्री बादललाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका थिए।

अनेरास्ववियूका अध्यक्ष नवीना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियू क्रन्तिकारीका अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा गएको विद्यार्थीको समूहले गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा २० वर्षीया छात्रामाथि भएको ज्यादती, पर्सामा गतसाता आठ वर्षीया बालिकामाथि भएको बलात्कारलगायत घटनामा संलग्न दोषीलाई तत्काल नियन्त्रणमा लिई हदैसम्मको कारबाही गर्न तथा पीडितलाई उचित न्याय र परिपूरणको प्रबन्ध मिलाउन माग गरिएको छ।

कैलालीको घोडाघोडी नगरपालिका ५ मा बोक्सीको आरोपमा एक १८ वर्षीया युवतीमाथि गत बिहीबार निर्घात कुटपिट भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement