काठमाडौं- नेपाल राष्ट्रिय नमूना मा.वि. ढोढरी बर्दियाकै नमूना सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ। मधुवन–४ को ढोढरीस्थित सो विद्यालयमा करीब एक हजार सात सय विद्यार्थी अध्ययनरत छन् जसमा श्रवणशक्ति कम भएका विद्यार्थी समेत रहेका छन्।
अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गरेको सो विद्यालयमा प्राविधिक शिक्षातर्फ सबअोभरसियर तहमा सिभिल र इलेक्ट्रिकल विषयमा अध्ययनअध्यापन हुने मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसीले बताए।
आगामी वर्षमा ९ कक्षादेखि माथि पढ्दै, सिक्दै, कमाउँदै र युवा उद्यमी बनाउँदै भन्ने सिद्धान्तबाट कक्षा शिक्षकले पढाउने विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए।
एक विद्यार्थीलाई हप्तामा १५ घण्टा काम गर्न प्रोत्साहन गरिने र एक घण्टाको ७५ रुपैयाँ पारिश्रमिक तोकिने छ। बीस बिघामा तरकारी खेती गर्ने विद्यालयको योजना रहेको प्रधानाध्यपक पोखरेलले बताए। विद्यालयमा ६२ शिक्षक छन्। ‘विद्यार्थीलाई खेल र मनोरञ्जनपूर्ण वातावरणमा साँस्कृतिक कार्यक्रमसहित पढाइरहेका छौँ’, प्रधानाध्यापक पोखरेलले भने।
टाढाका विद्यार्थीलाई विद्यालयले छात्रावाससमेत व्यवस्था गरेको छ। आ.व. २०७५-२०७६मा पाँच करोड रुपैयाँ बजेट रहेको विद्यालयमा दुई करोड रुपैयाँ नेपाल सरकारबाट र तीन करोड विद्यालयको आन्तरिक शुल्कबाट व्यहोरिने छ।
प्रतिक्रिया