राज्यबाट सहयोग पाए अन्तर्राष्ट्रिय प्लाटफर्ममा निर्धक्क भएर खेल्न सक्छौं : सब्बारानी महर्जन (अन्तवार्ता)


काठमाण्डु – साम्बो भनेको रसियन मार्सल आर्ट हो । साम्बो नेपालमा विस्तारै चर्चित बन्दैछ । नौलो मानिएको यो खेल नेपाली खेलाडीले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गरिसकेका छन् । नेपाल अन्तराष्ट्रिय साम्बो महासंघमा आवद्ध भएसँगै यो खेलको लोकप्रियता बढेको छ ।

नेपालको प्रतिनिधित्व गर्दै सब्बारानी महर्जनले अन्तराष्ट्रिय अवार्ड हात पार्न सफल भएकी छन् । सानैदेखि खेल क्षेत्रमा लागेकी सब्बा नेपाली साम्बोका आशालाग्दो र चर्चित अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनी केहिदिन अघिमात्रै एसियन साम्बो युनियन एथ्लेटिक कमिसनको महासचिवको रूपमा समेत निर्वाचित भएकी छन् । प्रस्तुत छ, महर्जनसँग काठमाण्डुपाटीका लागि यशोदा भुजेलले गरेको कुराकानीको सम्पादीत अंशः

पछिल्लो समय तपाईको व्यस्तता कत्तिको बढेको छ ?

कोरोना भाइरसको जोखिम भएकाले सबै क्षेत्र बन्द छ । आउटडोर इभेन्ट पनि बन्द छ । अहिले त घरमै बसेर प्राक्टिस गर्दैछु । अनि भर्खरै मात्रै साम्बो युनियन अफ एसियाको एथलिक कमिसनमा सेक्रेटरी जनरलको रुपमा निर्वाचित भएकी छु । अबको कार्ययोजनाको खाका बनाउँदै छुँ ।

साम्बो सुन्दा अलिक नयाँ जस्तो लाग्यो, यो खेल कसरी खेलिन्छ ?

साम्बो भनेको रसियन मार्सल आर्ट हो । यसको उत्पति सोभियत युनियनमा भएको थियो । साम्बोको एक्ज्याक्ट मिनिङ चाहिँ ‘सेल्फ डिफेन्स उइथआउट वेपन’ हो । यो खेल १९५० दशकतिर चाँही सोभियत रेड आर्मीले खेल्ने गर्दथे । र पछि १९६० मा सबैले खेल्न पाउने बनाइएको थियो । यो खेल नेपालमा २००८ सालबाट सुरु भएको हो । अहिले साम्बो नेपालसहित एक सय भन्दा बढी देशहरुमा खेलिँदै आइएको छ । यो खेल दुई जना खेलाडीबीच खेलिन्छ । यसमा आफ्नो पार्टनरलाई पछार्ने, लक हान्ने हुन्छ । यो खेल चाँहि किक बक्सिङ टाइपले खेल्ने गरिन्छ ।

यो खेलमा कति विधा छन् ?

साम्बो दुई प्रकारको हुन्छ । एउटा कम्ब्याड र अर्को स्पोर्टस् साम्बो हुन्छ । स्पोर्टस् साम्बो भनेको समातेर पछार्ने हो । यसलाई क्याच रेस्लिङ भन्छौं । स्पोर्टस् साम्बोमा पछार्ने होल्ड गर्ने मात्र गरिन्छ भने कम्ब्याड साम्बो फुल कन्डक्ट पछार्ने, कुट्ने सबै किसिमको मिक्स मासल आर्ट जस्तो खेल हो । युनिफर्म दुबै खेलको एउटै हुन्छ ।

साम्बो खेलमा तपाईं कसरी आकर्षित हुनुभयो ?

साम्बोमा प्रवेश गर्नुभन्दा अगाडी म कराँतेको खेलाडी थिए । तर, मेरा बुवा साब्बोको प्रशिक्षक भएकाले बुवाले नै मलाई साम्बो तर्फ प्रेरित गर्नुभयो । मेरो बुवा नेपाल साम्बो फेडरेसनको उपाध्यक्ष पनि हुनुहुन्छ ।

नेपालमा साम्बोको अवस्था कस्तो छ ?

नेपालमा साम्बो पहिले भन्दा अलि विकसित हुँदै गइरहेको छ जस्तो लाग्छ । मलाई २०१९ को कुरा जोड्न मन लाग्यो । एसियन साम्बो च्याम्पियनसिपमा नेपालले ६ वटा पदक ल्याउन सफल भयो । नेपालको इतिहासमा यो अहिले सम्मकै ठूलो मेडल र्याङ्किंगमा पर्दछ । यसका साथसाथै विश्वकै सबैभन्दा ठूलो साम्बो च्याम्पियनसिपमा पनि सहभागी हुन सफल भएको छ नेपाल । हरेक अन्तराष्ट्रिय सेमिनारहरुमा पनि एकदमै सक्रिय भएर भाग लिँदै आइरहेको छ । नेपाल साम्बो फेडरेसनका अध्यक्ष धनन्जय श्रेष्ठ ज्यु  South Asian Sambo Federation को अध्यक्ष र Sambo Union of Asia को उपाध्यक्षमा निर्वाचित हुनु भएको छ। यो हाम्रो लागि गौरवको कुरा हो, जसले गर्दा नेपालमा साम्बोको चौतर्फी विकास निश्चित देख्दछु। भर्खरै अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले पनि साम्बोलाई रिकम्बिनेशन दिएको छ । यसको मतलब साम्बो ओलम्पिकमा जादैँछ । यो भनेको सम्पूर्ण खेलप्रेमी र साम्बो एथ्लेटिक्सहरुका लागि ठूलो र खुशीको कुरा हो । यसले हामीलाई अबको दिनमा धेरै भन्दा धेरै अवसर प्रदान गर्नेछ र नेपालको विकासलाई ठूलो मद्धत पुर्याउने मैले देखेकी छु ।

नेपालमा साम्बो स्थापित हुन नसक्नुका कारणहरु के–के हुन सक्छन् ?

सबैले आ–आफ्नो ठाउँबाट योगदान दिँदादिँदै पनि साम्बो नेपालमा सोचेजस्तो, चाहेजस्तो विकसित हुन सकेको छैन । यसको प्रमुख कारण भनेको प्रयाप्त पुर्वाधारको अभाव हुनु हो । भनिन्छ, नेपाल भनेको काठमाण्डु मात्र हो । किनभने, हरेक कार्य गर्ने अन्तिम विन्दु अनि सेवा र विकास भएको ठाउँ त्यहीँ मात्र हो । देशमा, सबै ठाउँमा उपयुक्त खेलकुद पुर्वाधार पुग्न नसक्नु र पुगे पनि केन्द्रीकृत रहनु । अर्को भनेको साम्बो खेल्दा चाहिने आवश्यक सामग्रीहरुको अभाव हुनु, मिडियामा साम्बो खेललाई प्रमोट गर्न नसक्नु हो जस्तो लाग्छ मलाई । किनभने आजको दुनियाँमा सोसल मिडिया र मुलधारको मिडियाले सबैखाले भूमिका निभाइरहेको हुन्छ । यसमा चाहिँ हामीले साम्बो के हो ?, कसरी खेलिन्छ ? यसमा कस्ता कस्ता अपुर्चुनिटीहरु छन् भन्ने बुझाउन सक्यौं भने यसको विकासमा ठूलो सहयोग पुग्छ । अर्को भनेको कोचको अभाव हुनु हो । साम्बोमा दक्ष खेलाडी खेलाउने प्रशिक्षक नेपालमा कमि देख्छु । प्रशिक्षक एक गुरु, उत्प्रेरकर्ता, साथीभाइ तथा दक्ष ब्यक्ति हुनु पर्दछ । साथै, समय सापेक्ष प्रशिक्षकको वृद्धि विकासका साथै उनिहरुलाई तालिमको माध्यमबाट कार्य कुशलतामा अभिवृद्धि गर्नुपर्दछ, त्यसको अभाव छ । म ३ महिने तालिमका लागि मस्को रसिया गएको थिएँ । त्यहाँबाट फर्केपछि आफुले सिकेका कुराहरु यहाँ सिकाउँदै आइरहेकी छु ।

साम्बोको स्तर वृद्धिका लागि राज्यले के गनुपर्छ ?

राज्य भनेको हाम्रो अभिभावक हो । राज्यको माथिल्लो तहबाट नै हामीले साथ र सहयोग पायौं भने मात्र एउटा खेलाडीले अन्तराष्ट्रिय प्लाटफर्ममा निर्धक्क भएर नेपाललाई प्रस्तुत गर्न सक्छ । त्यसैले एउटा खेलाडीको जीवनस्तर विकास गर्न अर्थात खेलाडीहरुको हौसला बढाउन राज्यको ठूलो भूमिका रहेको हुन्छ । हरेक पटक नेपाललाई रिप्रिजेन्ट गरेर खेल्न जाँदै गर्दा आफ्नो खल्तिबाट लाखौं लाख खर्च गरेर कुनैपनि खेलाडी बारम्बार जान सक्दैन । त्यसैले ती अन्तराष्ट्रिय खेलाडीहरुलाई राज्यले हेर्नुपर्छ । राज्यले कम्तिमा पनि प्लेन टिकटको भएपनि व्यवस्था गरिदिनुपर्छ । खेलाडीहरुका लागि पुग्ने निश्चित बजेटको व्यवस्था गरिनुपर्छ । र बजेट छुट्याएर मात्र भएन, जो हकदार छन्, त्यहासम्म त्यो बजेट एकदमै सरल ढंगले पुग्नुपर्छ जस्तो मलाई लाग्छ । अनि मात्रै खेलाडीहरुले निर्धक्क भएर नेपालको नाम अझै उच्च पार्न सफल हुनेछन् ।

महिला हुनुहुन्छ, खेल खेल्ने क्रममा के कस्ता समस्याको सामना गर्नुभयो ?

एउटा छोरी मान्छेले हरेक क्षेत्रमा पुरुषले भन्दा बढी नै चुनौतीहरुको सामना गर्नुपर्छ । खेल क्षेत्रको वास्तविकता पनि यस्तै छ । स्पोट्र्स सेक्टरमा लागेका महिलाहरु निकै कम छन् । तर ती महिलाहरुलाई पनि गलत दृष्टिकोणले हेरिन्छ । छोरी मान्छेले कहाँ स्पोर्टस् खेल्ने हो र ? भन्ने धारणा बोकेको समाजले एउटा बन्धनमा बाँध्न खोज्दो रहेछ । एउटा महिला भएकै नाताले खेल क्षेत्रमा विभेद पनि भोग्नुपरेको छ । ‘म अन्तराष्ट्रिय ट्रेनिङका लागि बाहिर जाँदा आफ्नै वरिपरीका सपोर्टरहरुले छोरी मान्छे हो । एक्लै गर्न सक्दैन, कहाँ एक्लै बाहिर पठाउने, हुँदैन भन्ने विभिन्न खालका कुराहरु गरे क्या !’ यो विभेद चाँही चाडै हट्नुपर्छ । पुरुष भएकै नाताले उसले धेरै अपुर्चुनिटी पाउन सक्छन् भने महिलाहरुका लागि त एकदमै ठूलो विभेद होनि त ।

इन्टरनेशनल प्लेयर हुनुहुन्छ, अहिलेसम्म कति अवार्ड जित्नुभएको छ ?

राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा २० भन्दा बढी मेडल्स तथा अवार्डहरु पाएकी छु । २०१८ मा रसीयाको मस्कोमा आयोजित अल रसियन जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिएँ । त्यस्तै इण्डियामा २०१९ मा भएको एसियन साम्बो च्याम्पियनसिपमा रजत जित्न सफल भएँ ।

अन्त्यमा, अब आउने खेलाडीहरुलाई के सुझाव दिन चाहानुहुन्छ ?

खेललाई हामीले मनदेखि नै माया गर्नुपर्छ । त्यसैले पछि आउने खेलाडीहरुलाई म के भन्न चाहान्छु भने खेललाई एकदमै मनदेखि नै माया गरेर निरन्तर लागिरहनुस् । हामी निरन्तर लागिरहेमा एकदिन सफलता निश्चित छ । हामी इगो बोकेर होइन एउटा स्पोर्टस म्यानसिपको सिद्धान्तमा हिड्छौं भनेर अगाडी बढ्नुपर्छ । साम्बो खेलमा ठूलो स्कोप छ । अरु मार्सल आर्टको तुलनामा साम्बोे खेलको भविष्य मैले एकदमै राम्रो देखिरहेको छु । किनभने साम्बोे अरु मार्सल आर्ट भन्दा भिन्न रुपमा रहेको छ । त्यसैले आउनुस् तपाईंहरुको साथ र सहयोगको लागि हामी सबै खेलाडीहरु तयार छौं । त्यसैले आउनुस् संगै मिलेर नेपालको नाम रोशन गरौं ।

प्रतिक्रिया दिनुहोस
Advertisement