काठमाण्डु– सेयर खरिद गरेको विषयलाई लिएर गृहमन्त्री सुधन गुरुङमाथि प्रश्न उठेको विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि चासो राखेका छन् ।
सरकारको महत्वपूर्ण जिम्मेवारीमा रहेका गृहमन्त्रीबारे प्रश्न उठ्दासमेत प्रधानमन्त्री शाह चुप रहेको भन्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री र गृहमन्त्रीबीच कुराकानी भएको हो ।
प्रधानमन्त्रीसँगको भेटमा गृहमन्त्री गुरुङले सेयर खरिद गरेको रकमको श्रोत खुल्ने कागजात देखाएका थिए ।
काठमाडौं पाटीलाई प्राप्त गुरुङको ऋण लेनदनेसम्बन्धी कपाली तमसुकमा उल्लेख भएअनुसार उनले काठमाण्डु महानगरपालिका–१ का ६८ वर्षीय विजयकुमार श्रेष्ठसँग २६ वैशाख २०८० मै ३७ लाख ५० हजार रुपैयाँ ऋण लिएको देखिन्छ ।
श्रेष्ठको एनएमबी बैंकको खाताबाट गुरुङको नाममा रकम ट्रान्सफर भएको छ । एनएमबी बैंकको खाता नम्बर ७११०१८१५२१८०००१६ बाट ट्रान्सफर भएको ३७ लाख ५० हजार रुपौयाँबाट लिबरटी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर खरिदका लागि समान १८ लाख ७५ हजार रुपैयाँ बराबर रकम भुक्तानी गरेका छन् ।
उक्त लिखत काठमाण्डु महानगरपालिका वडा नम्बर–५ को कार्यालयबाट २१ साउन ०८० को मितिमा प्रमाणीकरण भएको छ । लिखतमा वडाअध्यक्ष वीरेन्द्र प्रजापतिले वडाको छाप लगाएर प्रमाणित गरेका छन् ।
सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परी थुनामा रहेका व्यवसायी दीपक भट्ट संलग्न कम्पनीमा गुरुङको सेयर रहेको भन्दै समाचार प्रकाशित भएपछि सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभाति रवि लामिछानेले आइतबार साँझ गुरुङलाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर सत्यतथ्य बुझेका थिए ।
लामिछानेसँगको भेटमा पनि गृहमन्त्री गुरुङले आफूले ऋण लिएर सेयरमा लगानी गरेको प्रष्टीकरण दिएका थिए । लामिछानेलाई पनि गुरुङले प्रधानमन्त्री शाहलाई देखाएकै ऋणसम्बन्धी लिखतका साथै आफ्नो वैध कारोबार खुल्ने अन्य विवरण देखाएका थिए ।
रास्वपा उच्च श्रोतका अनुसार गुरुङले आफ्नो सम्पत्तिको श्रोत खुलाएपछि प्रधानमन्त्री शाह र लामिछाने उनीसँग ‘कन्भिन्स’ भएका छन् । प्रधानमन्त्री र पार्टी सभापति ‘कन्भिन्स’ भएसँगै गुरुङको राजीनामा वा बर्खास्ती नहुने स्पष्ट भएको छ । उनलाई तत्काल पदमुक्त गरी छानबिनको दायरामा ल्याउन प्रतिपक्षी दल र सञ्जालमा केहीले माग गरिरहेका छन् ।





प्रतिक्रिया