काठमाण्डु- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालको स्वाधीनता आफ्नै बलमा सुरक्षित र समृद्ध बनाउन नसकिएको टिप्पणी गरेका छन्।
पाँचथरको हिलिहाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै किरातीले देशको स्वाधीनता अरूले बचाइदिएको भरमा टिकिरहेको र त्यसकै कारण नेपालले आफ्नै विकासको बाटो निर्माण गर्न नसकेको बताएका हुन्।
‘हाम्रो स्वाधीनता हामीले बचाएको हो कि कसैले बचाइदिएको हो ? मलाई लाग्छ, हामीले बचाइराखेका छैनौँ, कसैले बचाइदिएको छ,’ किरातीले भने, ‘यदि हामीले बचाएको भए हाम्रो देश हामी आफैँ बनाउन सक्ने थियौँ। तर अरूले बचाइदिएको हुनाले बनाउन दिएन र बनाई दिएन। त्यसैले हाम्रो स्वाधीनता न गरी खाने, न मरी जाने अवस्थामा छ।’
उनले नेपाल अहिले दुईवटा अवस्थामा विभाजित भएको बताए। एउटा नेपाल सीमाभित्र बसेर देशको भविष्य कुरिरहेको र अर्को नेपाल पसिना बगाउन सीमाबाहिर गएको उनको भनाइ छ।
‘आज हामीसामु दुईवटा नेपाल छन्। एउटा नेपाल सीमाना भित्र बसेर देश कुर्दैछ, अर्को नेपाल पसिना बगाउँदै सीमाना बाहिर छ,’ उनले भने।
किरातीले तीव्र आर्थिक विकासबिना स्वाधीन र बलियो राष्ट्र निर्माण हुन नसक्ने बताए। समृद्धिबिनाको स्वाधीनता अर्थहीन हुने भएकाले राज्यको सम्पूर्ण शक्ति आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने उनले बताए।
‘तीव्र आर्थिक विकासले मात्र सिंगो एउटा स्वाधीन देश बन्न सक्छ। समृद्धिबिनाको देश, श्वासबिनाको लास जस्तो मात्र हुन्छ। त्यसैले हाम्रो सुख ल्याउन सम्पूर्ण शक्ति आर्थिक विकासमा लगाऔँ,’ उनले भने।
‘हिलिहाङ अन्तिम राजा होइन, प्रथम नायक हुन्’
किरातीले हिलिहाङलाई नेपालको इतिहासमा अन्तिम राजाका रूपमा मात्र चित्रण गर्न नहुने बताए। उनले हिलिहाङलाई ‘प्रथम नायक’ का रूपमा स्थापित गर्नुपर्ने धारणा राखे। ‘हिलिहाङ अन्तिम राजा होइनन्, प्रथम नायक हुन्,’ किरातीले भने।
हिलिहाङले गोर्खाली सेनासँग १७ पटकसम्म युद्ध लडेका उनले बताए। पटक–पटकको संघर्षमा पराजित नभए पनि अन्ततः शक्तिको वास्तविकता स्वीकार गर्न बाध्य भएको उनको भनाइ थियो।
किरातीले हिलिहाङले याक्थुङ लिम्बु र किराती समुदायका लागि स्वायत्तताको राजनीतिको बीउ रोपेर गएको दाबी गरे।
‘गोर्खाली सेनासँग १७ पल्ट लडे, हारेनन् तर शक्ति स्वीकार्न बाध्य भए। याक्थुङ लिम्बु र किरातीहरूको लागि स्वायत्तताको राजनीतिको बीउ रोपेर गए। त्यसैले उहाँ अन्तिम राजा होइन, प्रथम नायक हुन्,’ उनले भने।




प्रतिक्रिया