सुदुर नेपालको ‘भर्जिन’ सुन्दरता खप्तड


गणेश बुढा

प्राकृतिक सौन्दर्यताको खानी खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइएको हो । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घांसे मैदान अर्थात पाटन रहेका छन् । सुन्दर घांसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि ५३ वटा थुम्काहरु छन् । जसलाई स्थानीय भाषामा झोती भनिन्छ । घांसे मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहांको आकर्षण हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउं हो । खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक पर्यटककिय हिसाबले समेत उपयुक्त गन्तव्य हो ।

धर्तीको स्वर्गका रूपमा मानिने खप्तड बाजुरा, बझाङ, अछाम र डोटी चार जिल्लाको केन्द्रमा रहेको छ । खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटीकय गन्तव्य हो । पौराणिक कालमा सिद्ध तथा ऋषिमुनीहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको छ । धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको यो क्षेत्रमा कौरव र पाण्डवको युद्ध हुंदा पाण्डवले चौध वर्ष वनबास बस्दा केही समय यहां बिताएको किम्बदन्ती रहंदै आएको छ । समुन्द्र सतहबाट ३३ सय फिट उचाइ र दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड क्षेत्र धार्मिकरूपमा पवित्र मानिन्छ । यस क्षेत्रमा विक्रम संवत् २००२ मा बझाङी राजा रामजंग सिंहले भारतबाट आएका एक जना साधुलाई कुटी बनाइ खप्तडको घनघोर जङ्गलमा तपस्या समेत गर्न राखेका थिए ।

उनले यस खप्तडलाई देवभूमीका रूपमा रहेको बताउंदै देश विदेशमा धार्मिक पर्यटनको महत्त्वबारे प्रचार प्रसार गरेपछि यस ठाउंले व्यापक चर्चा पायो । पछि उनी खप्तड बाबाका नामले परिचित बने । उनि  (५० वर्ष) यसै भूमिमा बसे र २०५२ सालमा उनको निधन भयो । पौराणिक कालदेखि धार्मिक महत्त्व रहेको यस क्षेत्रमा खप्तड बाबाको बसाइपछि झनै चर्चित बनेको पाइन्छ । यहांका वासिन्दा टोप खड्काको भनाइ अनुसार पहिले गाईगोरुको चरन क्षेत्रका रूपमा रहेको यो क्षेत्र खप्तड बाबाको आगमनपछि राजा वीरेन्द्रलाई आग्रह गर्दा २०४२ सालमा राष्ट्रिय निकुन्ज भएको भन्ने छ ।

खप्तड क्षेत्रमा रहेका २२ वटा ठूला ठूला पाटन रङ्गीबिरङ्गी फूलले पर्यटकको मन तान्छन् । ठूल्ठूला ढुङ्गाका नाग ढुङ्गा, हरिना चरिजेठी बहुरानी, छिन्टे ढुङ्गा, याई घट्ट छ्याई पानी, भिम लौणी लागायतका आकृति रहेका छन् । विभिन्न शक्तिपिठ जस्तै सहस्रलिङ्ग, त्रिवेणी, खप्तड बाबा आश्रम, खापर दह, त्रिवेणी, माईकाथान जस्ता ठाउंमा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने विश्वास रहंदै आएको छ । यहां वैशाख जेठ महिनामा गङ्गा दशहरा मेला लाग्ने गर्छ ।

प्रकृतिले नै रमाइलो बनाएको यस ठाउंमा ठूल्ठूला घांसे मैदान, ससाना ढिस्का र रमाइलो जङ्गल रहेको छ । गाईगोरु घोडा रमाउने गर्छन् खप्तडका फांटहरूमा । चारैतिर घनघोर जङ्गल र बीचमा ठूल्ठूला फांट छन् । जैविक विविधताले भरिएको यो क्षेत्रमा २०४० सालदेखि राष्ट्रिय निकुन्ज बनेको छ । यस क्षेत्रको सुरक्षाका लागि २०४७ सालदेखि नेपाली सेनाको ब्यारेक पनि स्थापना गरिएको हो । खप्तडमा दुई सयभन्दा बढी प्रजातिका फूल, बहुमूल्य जडिबुटीका साथै कस्तुरी, मृग, बंदेल, डांफे लगायतका जन्तु–पक्षी पाइन्छन् । मङ्सिरदेखि फागुनसम्म हिउंले ढकमक्क हुने यस ठाउंमा स्तरीय होटल तथा आवश्यक अन्य पूर्वाधारको अभावमा विदेशी पर्यटकको आगमन न्यून रहेको छ ।

खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ। त्यहां नागढुंगा, खापर दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीधाम छन् । त्रिवेणीघाटमा नुहाए पाप पखालिन्छ भन्ने धार्मीक जनविश्वास पनि रही आएको पाईन्छ । सरस्वती नदी गुप्त बगेकी छिन् भन्ने विश्वास गरिन्छ त्यस्तै युधिष्ठिर स्वर्ग जांदा खप्तड हुंदै गएका थिए भनिन्छ । खप्तड पुगेर घुम्नै पर्ने ठाउं खप्तड पुगेर हेर्नैपर्ने ठाउं खप्तड बाबा आश्रम पनि हो । त्यहां बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन् । बाबाले खप्तडमा ५० वर्ष बिताएका थिए । उहांले योग ,ध्यान, किताब लेखन , धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म ,पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञान लगायत पुस्तक लेखेका थिए ।

खप्तडबाट कहां–कहा देखिन्छ ?
आश्रम हाताबाट अपी शैपाल हिमशृंखला देखिन्छ । खप्तडका अन्य ठाउंबाट पनि हिमाल देखिन्छ । त्यहां क्यान्सरका लागि उपयोगी मानिएको लौठ सल्लाको जंगल छ । निकुञ्ज मुख्यालय भएको ठाउंमा संग्रहालय छ । त्यहां भालु, बँदेल, कस्तुरी, चितुवा आदिका टाउका, खुट्टा, पशुपंक्षीका छाला र फोटो सजाइएको छ । मुख्यालयअघिल्तिर सेनाको क्याम्प छ ।

खप्तडको मौसम कुन समयमा कस्तो ?

खप्तडमा मंसिरदेखि बैसाखसम्म कुनै पनि बेला हिउं पर्न सक्छ । एकपटक परेको हिउं धेरै दिन रहन्छ । केही दिनअघि परेको हिउंले खप्तडका पाटन सेताम्मे भइसकेका हुन्छन्। हिउं थुप्रिएपछि त्यहां जान गाह्रो हुन्छ । सेनाले बाटोको हिउं पन्छाएर ट्र्याक खोलेपछि मात्रै माथि जान सकिन्छ । फागुन लागेपछि त लेकमा गुराउंस पनि फुल्न थाल्छ । चिसो ठाउं भएकाले न्याना लुगा लगाएर जानुपर्छ ।
कसरी पुग्नेखप्तड

काठमाडौं धनगढि ६५० किमि बसमा १४ घण्टा धनगढि सिलगढि २०० किमि बसमा ८ घण्टा काठमाडौं धनगढि १ घण्टा हवाई यात्रा डोटी सदरमुकाम सिलगढिबाट पदयात्रामा पहिलो बास झिग्रानाबाट ८ घण्टा पदयात्रामा निकुञ्जको मुख्यालय । चार जिल्लामध्ये सबैभन्दा सजिलो र एकदम कम पैदल हिंडेर खप्तड पुगिने बाटो बझाङ बाट पनि छ । धनगढीबाट बसमा बैतडीको खोडपे हंदै बझाङको छबिस पातिभेरा गाउंपालिका हुंदै तमैल बजार झरेपछि त्यहांबाट फेरि २ घन्टा जिपमा गएर ३ घण्टा पैदल यात्रामा खप्तड पुगिन्छ । धेरैले सुनेको र घुम्न चाहेको सुन्दर सुदुरपश्चिमको भूमि खप्तडको आंगनमा पुग्दा मन हल्का हुन्छ,तनाबबाट मुक्ति मिल्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement