गृहमन्त्री सुटुक्क नेपाल-भारत नाकामा, गरे स्थानीयसँग छलफल

गृहमन्त्री सुटुक्क नेपाल-भारत नाकामा, गरे स्थानीयसँग छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गृहमन्त्री सुधन गुरुङ बारा–पर्साको सीमावर्ती क्षेत्रको सुटुक्क स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री गुरुङले शनिबार सचिवालय र स्थानीय प्रशासनलाई समेत जानकारी नदिई पर्साको नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गरेका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मन्त्री गुरुङले मास्क, टोपी, हाफ टिसर्ट लगाएका छन् । गुरुङ जानकी टोला, मटिअर्वा र अलौँलगायत सीमाक्षेत्रमा पुगेका थिए।

तर उनको यस भ्रमणबारे मन्त्रीको सचिवालयले कुनै जानकारी सार्वजनिक गरेको छैन भने बारा र पर्साका प्रहरी प्रशासनले समेत आफूहरूलाई भ्रमणबारे जानकारी नभएको बताएका छन्।

सुरक्षाकर्मीहरूलाई समेत कुनै जानकारी नदिई गरिएको अनुगमनका क्रममा गृहमन्त्रीले नाका क्षेत्रका स्थानीय नागरिकसँग सीमापार तस्करीका विषयमा सोधपुछसमेत गरेका थिए।

शनिबार दिउँसो १ बजेतिर सिर्सिया नाकामा पुगेका गृहमन्त्री दिउँसो ३ बजेतिर त्यहाँबाट फर्केका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन सकेर शुक्रबार बाराका विभिन्न नाकाहरूको छड्के गरेका गृहमन्त्रीले शनिबार पर्साको विभिन्न सीमा नाकाहरूको अनुगमन गरेका हुन् ।

शनिबार दिनभर सीमा क्षेत्रमा रहेका गृहमन्त्री गुरुङसँग स्थानीयले सशस्त्र प्रहरीका डिएसपीकै मिलेमतोमा तस्करी भइरहेको बताएका छन्।

नाकामा जडान गरिएको सिसी क्यामराको पोल देखाउँदै त्यसकै आडमा तस्करी गराउने गरिएको गुनासो स्थानीयले गृहमन्त्रीसमक्ष राखेको सार्वजनिक भएको भिडियोमा सुनिन्छ।

स्थानीयको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले ‘सिसी क्यामराको निगरानी कहाँबाट हुन्छ ?’ भनी प्रश्न गरेका थिए। जवाफमा स्थानीयले जिल्ला प्रशासन कार्यालयबाट यसको निगरानी हुने गरेको बताएका छन्।

सिर्सिया नाकालाई सशस्त्र प्रहरीको विओपी ड्राइपोटले हेर्ने गरेको छ। यस क्षेत्रका सशस्त्र प्रहरीका डिएसपी गोबिन्द केसी कमाण्डर रहेका सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगन्ज, पर्साले जनाएको छ।

सिर्सिया नाकाबाट अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई महिनावारी दिएर वीरगन्जका अधिकांश तस्करहरू भारतबाट अवैध रूपले मालसामान भित्र्याउँदै आएको स्थानीयको दाबी छ । उनीहरूले दाबीका साथ गृहमन्त्रीसमक्ष गुनासो व्यक्त गरे ।