काठमाण्डु – गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका घाइतेको स्वास्थ्य अवस्था बुझेका छन् ।
घाइतेहरूको उपचार भइरहेको न्युरो अस्पतालमा मन्त्रीद्वयले भेटेका हुन् । मन्त्रीहद्रले घाइतेलाई भेट गर्न जाँदा अस्पताल परिसरबाहिर भेला भएकाहरुले सरकारविरुद्ध चर्को नाराबाजी र प्रदर्शन गरेका थिए ।
जहाजमार्फत बिहीबार साँझ करिबविराटनगर विमानस्थलमा ओर्लिएका गृहमन्त्री गुरुङले झन्डै एक घण्टासम्म कोशी प्रदेशका सुरक्षा अधिकारीसँग देवानगन्जसहित सुनसरीको सुरक्षा अवस्थाका बारेमा विस्तृत ब्रिफिङ लिएका थिए । सुरक्षा अधिकारीहरूले अवस्था नियन्त्रणउन्मुख भए पनि पूर्ण रूपमा सामान्य भइनसकेको जानकारी गराए ।
सुरक्षा ब्रिफिङपछि गृहमन्त्रीको टोली विराट नर्सिङ होम पुगेर उपचाररत चार जना घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो । त्यहाँ उनले उपचारमा कुनै कमी हुन नदिने र घटनाका दोषीलाई कानुनी दायरामा ल्याइने आश्वासन दिएका थिए । उनले छानबिन जारी रहेकाले केही समय धैर्य गर्न पनि आग्रह गरे ।
त्यसपछि मन्त्रीद्वय न्युरो अस्पताल पुगेका थिए । न्युरो अस्पतालमा उपचाररत तीन जना घाइतेसँग भेटघाट गरी उनीहरूले उपचारको अवस्थाका बारेमा चिकित्सकसँग जानकारी लिएका छन् ।
कप्तानगन्जमा दुई पक्षबीचको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन आइतबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर १० जना घाइते भएका थिए । घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटना भएको केही समयमै मृत्यु भएको थियो भने देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ ।





प्रतिक्रिया