राष्ट्रियसभामा अपरिपक्वताको आरोप लागेपछि सुधन गुरुङले भनेः तपाईंहरुले जस्तै धक्का खाएपछि परिपक्व हुन्छौं होला

राष्ट्रियसभामा अपरिपक्वताको आरोप लागेपछि सुधन गुरुङले भनेः तपाईंहरुले जस्तै धक्का खाएपछि परिपक्व हुन्छौं होला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले आफूहरु नयाँ भएकाले परिपक्वताको अभाव रहेको हुन सक्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभामा काँग्रेस सांसद् कमला पन्तद्वारा प्रस्तुत ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सिकेर परिपक्व हुने बताए ।

त्यसअघि गृहमन्त्री गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा संसदमा विषय नउठाउन सांसदहरुलाई चेतावनी दिएका थिए ।

संसद् र सञ्जालमा विरोध भएपछि उनले माफी मागेका थिए ।

गुरुङले ठेस लागेपछि मात्र कति कुरा थाहा हुने भन्दै समयले आफूहरुलाई परिपक्व बनाउँदै लैजाने विश्वास व्यक्त गरे ।

पुराना दलका सांसदहरुले धेरै धक्का खाएपछि परिपक्वता आएको भन्दै उनले आफूहरुले पनि धक्का खाएपछि सिक्ने उल्लेख गरे ।

‘परिपक्वताको कुरा गर्नुभएको थियो माननीय सदस्यज्यूले, त्यो समयले विस्तारै बदल्ला कि ? हामी हजुरहरुभन्दा सानै छौं । बिस्तारै समयले परिपक्व बनाउँदै गर्छ । ठेस लागेपछि मात्र थाहा हुन्छ नि त कतिपय कुराहरु । समयले आफूलाई परिपक्व बनाउँछ होला’, उनले भने, ‘हजुरहरु पनि यहाँ धेरै धक्का खाएर आउनुभएको छ । त्यो धक्का हामीले पनि खाने इच्छा छ । हजुरहरुजस्तै परिपक्व भएर यही संसदमा जवाफ दिने इच्छा हामीलाई पनि छ । कतिपय शब्द नमिल्ला । तर, त्यसका लागि धेरै–धेरै माफी पनि माग्न चाहन्छु । विस्तारै शब्दहरु पनि मिल्ला, अनि परिपक्व हुनुभएको छ भनेर पनि भन्नुहोला यही सदनबाट ।’