खगेन्द्र सुनारले प्रहरी प्रमुखमाथि गरेको व्यवहारप्रति गृहमन्त्री गुरुङको आपत्ति

खगेन्द्र सुनारले प्रहरी प्रमुखमाथि गरेको व्यवहारप्रति गृहमन्त्री गुरुङको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री सुधन गुरूङले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि आफ्नै दल रास्वपा सांसद् खगेन्द्र सुनारले गरेको व्यवहार ठीक नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा उपस्थित भएका गुरूङले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

उजुरी परेकै आधारमा न्यायाधीश बनेर कसैलाई दोषी करार गर्न र चरित्र हत्या नपाइने स्पष्ट गरे ।

‘मेरो अनुपस्थितिमा हाम्रो सचिव र प्रहरी प्रमुखज्यूहरुलाई जुन व्यवहार समितिले प्रस्तुत गर्नुभयो । त्यसमा गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ । कसैलाई उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिं मिल्दैन । र, आरोप जो कोहीले पनि लगाउन सक्यो भन्दैमा कसैको चरित्र हत्या चाहिं गर्न पाइँदैन’, मन्त्री गुरुङले भने, ‘ त्यसमा पनि कानूनमा केही गर्नुपर्छजस्तो लाग्छ मलाई चाहिं । ‘इट इज नट गुड’ (यो राम्रो होइन) अनि हाम्रो गृहन्त्रायकै ध्यानाकर्षण भएको छ यसमा चाहिं । ‘वी आर नट ह्याप्पी अबाउट इट’ ।’ (यस विषयमा हामी खुसी छैनौं) ।

गुरुङले गृह मन्त्रालय मातहका कर्मचारी र सुरक्षा निकायले वर्तमान सरकारको स्पिरिटमा काम गरिरहेको भन्दै उनीहरुको संरक्षण गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गरे ।

उनीहरुको कामको आफू प्रत्यक्षदर्शी भएको गृहमन्त्रीले बताए ।

‘आफ्नो कर्मचारीले जसरी काम गर्नुभएको छ । मिहेनत गर्नुभएको छ । जसरी आईजीसाबहरुले काम गर्नुभएको छ । म प्रत्यक्षदर्शी छु’, उनले भने, ‘हाम्रो स्पिरिटमा, स्पेसल्ली सरकारको स्पिटिरमा काम गर्न उहाँहरु दिनरात खट्नुभएको छ, दुई मत छैन ।’

गुरुङले जिम्मेवारीमा रहेका व्यक्तिमाथि आरोप लगाउन सकिने भए पनि पुष्टि नभएसम्म दोषी करार गर्न नपाइने स्पष्ट गरे ।

गृहसचिव र प्रहरी महानिरीक्षकमाथि भएको व्यवहारबारे कहाँ गएर बोलौं भन्ने भइरहेका बेला कानून समितिले अवसर दिएको भन्दै गुरुङले आभार प्रकट गरे । ‘यो विषयमा मनमा खुल्दुली पनि भएको थियो, कहाँ गएर भनौं भन्ने लागेको थियो, भन्न पाएँ, उनले भने ।


बुधबार लेखा समितिले गृहसचिवसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई छलफलमा बोलाएको थियो ।

छलफलको एजेण्डा गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा प्रहरी र निर्वाचन प्रहरीका लागि पोशाक र जुत्ता/मोजा खरिदमा अनियमितता भएको भन्दै उजुरी परेकोबारे थियो ।

त्यस क्रममा रास्वपा सांसद् सुनार जवान र हवल्दारको जुत्ता/मोजा खाएको भन्दै नेपाल प्रहरीका महानिरीक्षक कार्कीप्रति आक्रोशित रुपमा प्रस्तुत भए ।

उनले भ्रष्टाचारमा उजुरी परेका व्यक्ति पदमा बस्न नमिल्नै भन्दै कार्कीलाई तत्काल निलम्बन गरी छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।

उनको अभिव्यक्तिप्रति लेखा समितिमा रहेका अन्य दलका सांसदले आपत्ति जनाएका थिए । आफूले भनेजस्तो निर्णय समितिले नगरेपछि सुनारले बैठक बहिस्कार गरेका थिए ।

सुनारको आरोपको प्रतिवाद गर्दै कार्कीले संसदीय समितिमा बोलाएर जे पनि आरोप लगाउन नपाइने बताए ।

प्रहरीलाई थुतेर कुट्छु भन्ने सुनारजस्ताहरुबाट शाषित हुनुपर्ने अवस्था आउनु बिडम्बना भएको उनको भनाइ थियो ।