काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीबाट अकल्पनीय मानवीय र भौतिक क्षति भएको भन्दै क्षतिको सूचना संकलन गर्न कठिनाई भइरहेको बताएका छन् ।
रास्वपा सभापति रवि लामिछानेले बिहीबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा गुरुङले प्रभावित क्षेत्रमा उद्धारका लागि सबै सुरक्षा निकाय परिचालन गरिएको भए पनि क्षतिको सूचना संकलन हुन नसकेको बताए ।
‘क्षतिको विवरण संकलन चुनौतीपूर्ण हुँदोरहेछ’, उनले भने, ‘भौतिक पूर्वाधारमा पनि धेरै ठूलो क्षति भएको छ ।’ विभिन्न संयन्त्र परिचालन गरी मानवीय क्षतिको विवरण संकलनको काम भइरहेको उनको भनाइ थियो ।
गुरुङले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सबै दलले सरकारलाई सहयोग गरेको भन्दै प्रशंसा गरे ।
‘उद्धार र राहतमा सबै राजनीतिक दलले सरकारलाई गरेको सहयोगको म प्रशंसा गर्छु’, उनले भने, ‘उहाँहरुले स्वयंसेवक खटाएर धेरै ठूलो सहयोग गर्नुभएको छ ।’
गुरुङले विपद व्यवस्थापनमा राजनीतिक स्वार्थभन्दा माथि उठेर दलहरुले गरेको सहयोग तथा तत्परताका लागि सरकारलाई हौसला मिलेको बताए ।
उनले आगामी दिनमा हिमताल तथा हिमाली क्षेत्रबाट उत्पन्न हुन सक्ने जोखिमको अध्ययन, अनुसन्धान तथा पूर्वानुमानका लागि विशेष टोली गठन गर्न आवश्यक रहेकामा जोड दिए ।




प्रतिक्रिया