अक्सिजन सिलिन्डर बोकेको भिडियो भाइरल भएपछि बोले सुधन गुरुङ

अक्सिजन सिलिन्डर बोकेको भिडियो भाइरल भएपछि बोले सुधन गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसिरहेका मध्ये दुई जनालाई शक्रुबार बिहान जीवितै उद्धार गरिएपछि गृहमन्त्री सुधन गुरुङ हेलिकप्टरमार्फत त्यहाँ पुगे ।

गुरुङले उद्धार गरिएका व्यक्तिलाई बाहिर निकाल्ने क्रममा प्रयोग गरिएको सानो अक्सिजन सिलिन्डर गृहमन्त्री आफैंले हातमा बोकेर हिँडेको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो ।

उक्त दृश्यलाई लिएर सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङको आलोचना भएको छ । कतिपयले उद्धार कार्यमा आफ्नो प्रत्यक्ष भूमिका देखाउन खोजेको भन्दै ‘स्टण्टबाजी’ को संज्ञासमेत दिएका छन् ।

यही आलोचनाबीच गृहमन्त्री गुरुङले आफ्नो कार्यशैलीबारे स्पष्टीकरण दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले परम्परागत शैलीमा मन्त्री कार्यालयको कुर्सीमा बसेर कागजात समातेर मात्रै नेतृत्व गर्नुपर्छ भन्ने सोच अहिलेको समयमा उपयुक्त नभएको तर्क गरेका छन् ।

फिल्डको वास्तविक यथार्थ नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम देशले वर्षौँदेखि भोग्दै आएको तर्क उनले गरे । ‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ (जेनेरेसन ग्याप),’ उनले लेखेका छन्, ‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ ।’


विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको भन्दै उनले चिन्ता लिनुनपर्ने बताए । अनलाइनबाट हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेको उनले बताए ।

डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको दाबी उनको छ ।

उनले विपद्को समयमा आफू कहाँ बसेर काम गरिरहेको छु भन्ने विषयलाई मुख्य विषय बनाउनुभन्दा उद्धार तथा प्रतिकार्यबाट आएको परिणाम हेर्न आग्रह गरेका छन् ।

‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु’, आलोचना गर्नेहरुलाई लक्षित गर्दै उनले लेखेका छन् ।