सुधारिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : आन्तरिक रात्रि उडान पनि सञ्चालन गर्दै


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ रात्रि उडान विस्तारको काम भैरहेको छ । विगतमा  अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान पनि सञ्चालन गरिरहेको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार पहिला साँझ ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म सञ्चालनमा छन् । विमानस्थल विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान भइरहेको छ ।

निकट भविष्यमै झापाको चन्द्रगढी र जनकपुरमा रात्रि उडान सुरु गर्ने तयारी छ । रात्रि उडानका लागि अन्तर्र्राष्ट्रिय विमानस्थलसहित क्षेत्रीय विमानस्थलमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गरिएको छ । रात्रि उडानका लागि ‘रनवे लाइट’, टर्मिनल भवनको व्यवस्थापन तथा सुरक्षा व्यवस्थालगायतका काम गरिएको छ । रात्रि उडानका लागि विभिन्न एयरलाइन्सको २५ उडान तालीका स्वीकृत भैसकेको छ ।

यसअघि अन्तर्राष्ट्रियतर्फ मात्र रात्रि उडान हुँदै आएको थियो भने आन्तरिकतर्फ बिहान ७ देखि साँझ ६ बजेसम्मको उडान तालीका थियो ।सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । आन्तरिक टर्मिनल अहिले दैनिक २२ घण्टा सञ्चालनमा छ । यसले विमानस्थलको चाप कम गर्न र हवाइ आगमनलाई सहज तुल्याएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement