फेरि किन आउंदैछन् सचिव सुधाकर दलेला नेपाल ?


काठमाडौं – हालै युनिभर्सल पिस फेडरेशनले नेपालमा आयोजना गरेको एशिया प्यासेफिक समिट–२०१८ सम्पन्न भएको छ । जसलाई भारत सरकारले रुचाएको छैन् । यिनै विषयहरुको चर्चा भइरहेको बेला  भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुख एवम् संयुक्त सचिव सुधाकर दलेला नेपाल आउन लागेका छन् ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार नेपाली सेनाका लागि हतियार तथा गोलीगठ्ठाको खरिद तथा द्विपक्षीय रक्षा मामिलामा छलफल गर्न उनी नेपाल आउन लागेका हुन् । त्यसका लागि मंसिर २७ र २८ गते नेपाल भारत द्विपक्षीय परामर्श समूहको बैठक बस्न लागेको छ । सो बैठकमा भारतको तर्फबाट दलेलाले नेतृत्व गर्ने बताइएको छ ।

विदेश मन्त्रालयको नेपाल डेस्क प्रमुख हुने भएकाले उनी पटक–पटक नेपाल आइरहन्छन् । २०७० सालमा नेपालमाथि भारतले लगाएको नाकाबन्दीको मुख्य योजनाकार मानिएका उनी नेपालका लागि ‘बदनाम’ पात्र मानिन्छन् । तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न दलेला निकै सक्रिय थिए ।

ओली नेतृत्वको सरकार ढलेपछि उनी पटक–पटक नेपाल आएका छन् । प्रतिनिधिसभाको चुनावपछि केपी शर्मा ओली प्रधानमन्त्री बन्न लाग्दा पनि उनी नेपाल आएका थिए । प्रतिनिधिसभाको चुनाव सम्पन्न भएपछि शेरबहादुर देउवा प्रधानमन्त्री थिए । त्यतिबेला उनले प्रधानमन्त्री पदबाट राजीनामा दिन आनाकानी गरेका थिए । त्यो बेला दलेला नेपालमै थिए । त्यसबेला वामगठबन्धनको तर्फबाट ओली प्रधानमन्त्री नबनुन् भनि निकै कसरत भएको थियो । त्यो कसरतको पछाडी दलेलाको हात रहेको जानकारहरु बताउँछन् ।

२०७४ पुस २१ गते उनी भारत फर्केका थिए । ओली प्रधानमन्त्री बन्ने निश्चित रहेको रिर्पोट उनले विदेश मन्त्रालयमा दिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई फोन गरेर बधाई दिएका थिए । सचिव सुधाकर दलेला नाकाबन्दीदेखि लिएर नेपालको राजनीतिकमा पटक–पटक प्रभाव पार्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement