सुदूरपश्चिममा सदनसमेत चल्न सकेन, सरकारले पूर्णता नपाएपछि मुख्यमन्त्री शाहको चर्को आलोचना


काठमाण्डु- सुदूरपश्चिम सरकारले हालसम्म पूर्णता पाएको छैन । सुदूरपश्चिम सरकार गठन भएको दुई महिना बितिसक्दा पनि अझैँ सरकारले पूर्णता नपाएको हो । गत माघ २६ गते नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

माघ २७ गते मुख्यमन्त्री शाहसँगै कांग्रेसकै प्रकाश देउवा भौतिक पूर्वाधार मन्त्री र एकीकृत समाजवादीका नरेश कुमार शाही अर्थमन्त्री बने । त्यसपछि भने मुख्यमन्त्री शाहले अन्य मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेनन् । चार महत्वपूर्ण मन्त्रालय नै मन्त्रीबिहीन हुँदा काम अगाडि बढ्न सकेका छैनन् ।

यी सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले नै सम्हाल्दै आएका छन् । सुदूरपश्चिममा सदनसमेत चल्न सकेको छैन। यता मुख्यमन्त्री शाहलाई गठबन्धनमा सामेल सबै दललाई भागबण्डा मिलाउनु पर्ने भएकाले सरकारलाई पूर्णता दिन सकस परिरहेको छ ।

भागबण्डामा सहमति जुटाउन मुख्यमन्त्री शाह काठमाण्डु नै आएर शीर्ष नेताहरुसँग पनि छलफल गरेका थिए । तर, शीर्ष नेताहरु हाल बैशाख १० गते हुने उपनिर्वाचनको तयारीमा जुटेका हुनाले शीर्ष नेताहरुले शुदूर सरकार गठनबारे चासो देखाएका छैनन् ।

अर्को तर्फ केन्द्रमा पनि सरकारले पूर्णता पाएको छैन् । मुख्य मन्त्री शाहले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग भागबण्डामा सहमति जुटाउन सकेका छैनन् । त्यसकारण सुदूरपश्चिम सरकारले पूर्णता पाउन अझैँ समय लाग्ने देखिन्छ ।

लामो समयसम्म पनि सरकारले पूर्णता नपाउँदा मुख्यमन्त्री शाहको चर्को आलोचना भइरहेको छ । नेताहरूले दलगत स्वार्थका कारण सरकारलाई अनिर्णयको बन्दी बनाएको र सरकारका काम तथा सेवा प्रभावकारी हुन नसकेको जनगुनासो छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement