यसरी जोगिन सक्छ कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार

यसरी जोगिन सक्छ कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार

फाइल तस्बिर

काठमाण्डु- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पूनः मन्त्रीमण्डल विस्तार गरेका छन्। सरकार टिकाउनका लागि मुख्यमन्त्री शाहले एक हप्ताभित्र दोस्रो पटक मन्त्रीमण्डल विस्तार गरेका हुन्।

सोमवार उनले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाएका हुन् । अल्पमतमा परेको सरकारलाई जोगाउनको लागि मुख्यमन्त्री शाहले नाउपाका पाँच जना सांसदलाई नै मन्त्री बनाएका छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै शाहले शुक्रबार मात्र नाउपाका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए ।

नाउपाका कैलाश चौधरीलाई राज्यमन्त्रीबाट हटाएका उनले घनश्याम चौधरीलाई आर्थिक मामिला र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए ।

५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारमा बहुमत पुगाउन २७ सांसद आवश्यक पर्छ। कांग्रेसका १८ र नाउपाका ७ सांसदको साथ रहँदा पनि मुख्यमन्त्री शाहले बहुमत पाउन सक्ने अवस्था छैन्। तर, सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र एक जना र राप्रपाका १ जना सांसद छन्। उनीहरूको साथ पाए मुख्यमन्त्री शाह नेतृत्वको सरकार ढल्ने छैन ।