सुदूरपश्चिम प्रदेशको छ महीनाको बजेट खर्च १०.१८ प्रतिशत


कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महीनामा १०.१८ प्रतिशत बजेट खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरी पुस मसान्तसम्म दुई अर्ब ८६ करोड ८२ लाख ७५ हजार रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले छ महीनामा ४.९५ प्रतिशत बजेट खर्च गरेको थियो । यो आर्थिक वर्षमा पुस मसान्तसम्म चालुतर्फ एक अर्ब ५२ करोड २९ लाख ८२ हजार र पुँजीगततर्फ एक अर्ब ३४ लाख ५२ करोड ९३ हजार रुपैयाँ बजेट खर्च भएको छ ।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष बजेट खर्च प्रगति उत्साहजनक रहेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए । मन्त्री बोहराले गत बर्षको तुलनामा यस बर्ष खर्च प्रगती सन्तोषजनक रहेको बताए ।

उनका अनुसार गत बर्ष यहि समयमा एक दशमलव ४१ प्रतिशत मात्रै पुँजिगत बजेट खर्च भएको थियो ।

‘सुदूरपश्चिम प्रदेश सरकारका विकासे योजनाहरु कार्यान्वयनमा गएका छन्,’ मन्त्री बोहराले भने, ‘अहिले तथ्याङकमा खर्च कम देखिएको छ। भौतिक प्रगति भने ३० प्रतिशत भन्दा बढि छ । यसबर्ष बाँकी ९० प्रतिशत पनि खर्च हुन्छ ।’

प्रदेश सरकार मातहत रहेका कार्यालयहरुमा सबैभन्दा बढि प्रदेश सभा सचिवालयले २० प्रतिशत पूँजिगत बजेट खर्च गरेको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पुँजिगत खर्च सबैभन्दा कम छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शुन्य दशमलव ३० प्रतिशत पुँजिगत बजेट खर्च भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको दुइ दशमलव ४९ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको पाँच दशमलव ६२ प्रतिशत, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको छ दशमलव ४९ प्रतिशत, आन्तरिक मामिला तथा कानून मन्त्रालयको छ दशमलव २४ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको १३ दशमलव ७१ प्रतिशत र सामाजिक विकास मन्त्रालयको चार दशमलव ९९ प्रतिशत पुँजिगत बजेट खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement