सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन बिदा, जग्गा र छात्रवृत्ति छानबिन गर्न ३ समिति गठन

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन बिदा, जग्गा र छात्रवृत्ति छानबिन गर्न ३ समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुदूरपश्चिम विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग लगायतका विभिन्न विषयमा छानविन गर्न समिति गठन गरेको छ।

विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. किसनदत्त भट्टको पदबहालीपछि असार २४ गते बसेको कार्यकारी परिषद्को बैठकले अध्ययन बिदा दुरुपयोग, विश्वविद्यालयको जग्गा छानबिन र छात्रवृत्तिलाई पारदर्शी बनाउन कार्यविधि निर्माण समिति गठन गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार अध्ययन बिदा दुरुपयोग सम्बन्धी छानबिन गरी प्रतिवेदन पेश गर्न प्रा. डा. राजेन्द्र प्रसाद भट्टको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ।

सोही निर्णयअनुसार विश्वविद्यालय तथा यसका आंगिक क्याम्पसहरूको नाममा रहेको वा चलनभोगमा रहेको जग्गामध्ये विश्वविद्यालयको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन गर्न प्रा. यज्ञराज पाठकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।

यस्तै, विश्वविद्यालयका आंगिक क्याम्पसहरूले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवस्थापन संकायका डीन केशवराज भट्टको संयोजकत्वमा कार्यविधि निर्माण समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ।

सुदूरपश्चिम विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग, सामान्य विज्ञान केन्द्रीय विभाग, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग तथा कानून केन्द्रीय विभागका शैक्षिक एवं प्रशासनिक भवन निर्माणका लागि विद्युतीय बोलपत्र आह्वान गर्ने कार्य पनि सम्पन्न भएको विश्वविद्यालयले जनाएको छ।