काठमाण्डु – भारतले बुधबारदेखि लागू हुने गरी नेपालसहित अन्य मुलुकतर्फ चिनी निर्यातमा पुनः प्रतिबन्ध लगाएपछि नेपाली बजारमा आपूर्ति अवरोध र मूल्यवृद्धिको चिन्ता बढेको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले कच्चा, सेतो तथा प्रशोधित चिनीको निर्यात नीति संशोधन गर्दै निर्यातलाई ‘निषेधित’ सूचीमा राखेको हो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ‘एल निनो’ को प्रभावका कारण खडेरी, कृषि उत्पादनमा गिरावट तथा आन्तरिक बजारमा मूल्य वृद्धि हुन सक्ने अनुमानपछि भारतले चिनी निर्यात नियन्त्रण गर्ने निर्णय गरेको हो। नयाँ व्यवस्था ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को सूचना जारी नभएसम्म कायम रहने बताइएको छ।
ब्राजिलपछि विश्वकै प्रमुख चिनी निर्यातकर्तामध्ये भारतले यसअघि १५ लाख ९० हजार टन चिनी निर्यात गर्न अनुमति दिएको थियो। तर नयाँ प्रतिबन्धले नेपालजस्ता आयातमा निर्भर मुलुक प्रत्यक्ष प्रभावित हुने देखिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले चिनी प्रतिबन्धबारे सरोकारवालासँग छलफल गरिने बताएका छन्। उनका अनुसार आवश्यक परे वैकल्पिक स्रोतबाट चिनी आयात गर्ने तथा भारतसँग सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत समन्वय गर्न सकिनेछ।
यसअघि सन् २०२३ मा भारतले चिनी निर्यात रोकेको समयमा नेपाली बजारमा चिनीको मूल्य ह्वात्तै बढेको थियो। दसैंअघि प्रतिकिलो ८८ रुपैयाँमा पाइने चिनी कालोबजारमा १६० रुपैयाँसम्म पुगेको थियो। नेपालले ६० हजार टन चिनी आयात अनुमति मागे पनि भारतले २५ हजार टन मात्र स्वीकृति दिएको थियो।
व्यापार विज्ञहरूले भारतको संरक्षणवादी नीतिले नेपालजस्ता परनिर्भर अर्थतन्त्रलाई बारम्बार प्रभावित पारिरहेको बताएका छन्। भारतले यसअघि गैरबासमती चामलको निर्यातमा पनि प्रतिबन्ध लगाउँदा नेपाली बजारमा मूल्यवृद्धि भएको थियो।
रविशंकर सैंजुका अनुसार खाद्यान्नमा भारतमाथिको अत्यधिक निर्भरता नेपालका लागि जोखिमपूर्ण बन्दै गएको छ। अन्य मुलुकबाट आयात गर्दा ढुवानी खर्च बढ्ने र विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने भएकाले खाद्य सुरक्षासम्बन्धी छुट्टै रणनीति आवश्यक रहेको उनले बताएका छन्।
कृषि तथा खाद्य विज्ञ देवेन्द्र गौचनले कम वर्षा, रासायनिक मल अभाव तथा बढ्दो इन्धन मूल्यका कारण नेपालमा खाद्य सुरक्षाको चुनौती थप गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्।
साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार हाल नेपालमा करिब २ हजार टन चिनी मौज्दात छ। मुलुकमा मासिक २० देखि २५ हजार टन चिनीको माग हुने र चाडपर्वमा यो ३० हजार टनसम्म पुग्ने बताइएको छ। नेपालमा वार्षिक करिब १ लाख टन चिनी अभाव हुने भएकाले ठूलो हिस्सा आयातमार्फत पूर्ति गरिन्छ।




प्रतिक्रिया