चियाको पातले कूटनीतिक पत्राचार पर्खँदैन, सरकारले भारतीय अवरोध तत्काल हटाओस् : सांसद सुहाङ

चियाको पातले कूटनीतिक पत्राचार पर्खँदैन, सरकारले भारतीय अवरोध तत्काल हटाओस् : सांसद सुहाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– असार १ गतेबाट इलाम सुर्योदय नगरपालीकाका ५३ चिया उद्याेग बन्द हुने भएका छन् । भारतले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेपछि सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएएपछि उद्योग बन्द गर्ने निर्णय गरिएको हो ।

उद्योग बन्द गर्ने निर्णय भएसँगै इलाम क्षेत्र– २ का सांसद सुहाङ नेम्वाङले नेपाली चिया निर्यातमा भारतको अवरोध तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

भारतको गुणस्तर परीक्षण प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य र समयबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन् ।उद्योग बन्दको निर्णयले किसानको सम्पूर्ण जीवनचक्र नै संकटमा पारेको भन्दै सुहाङले भने ‘इलामका किसानका लागि चिया केवल बाली होइन, यो घरको चुलो बाल्ने, छोराछोरी पढाउने र बिरामी पर्दा उपचार गर्ने आधार हो ।चियाको बजार अवरुद्ध हुँदा किसानको आम्दानी मात्र रोकिन्न, उसको सम्पूर्ण जीवनचक्र नै संकटमा पर्छ।’

नेपाली चियामा भारतको कडाइ : भोलिदेखि इलामका ५३ उद्योग बन्द

उनले सरकारका लागि पनि यो संकटले ठूलो क्षति गराउने उल्लेख गरेका छन् । ‘अर्थतन्त्रलाई उत्पादनमुखी, आत्मनिर्भर र सबल बनाउने दिशामा काम गरिरहेको सरकारका लागि पनि यो संकट ठूलो क्षति हो। चिया उद्योग बन्द हुनु भनेको किसानको आम्दानी घट्नु मात्र होइन, रोजगारी गुम्नु, उद्योगको लगानी जोखिममा पर्नु, निर्यात घट्नु र विदेशी मुद्रा आर्जनमा प्रत्यक्ष असर पर्नु हो।’ उनले भने ।

‘चियाको पातले प्रशासनिक प्रक्रिया र कूटनीतिक पत्राचार पर्खँदैन। आजको ढिलाइले किसानको वर्षभरको श्रम, उद्योगको लगानी र हजारौँ श्रमिकको रोजगारी जोखिममा पर्छ। सरकारबाट तत्काल, परिणाममुखी र समयसीमासहितको हस्तक्षेप अपेक्षित छ।’ उनले भने ।

सांसद नेम्वाङले यस विषयमा सरकारसँग ५ बुँदे माग समेत राखेका छन् ।

पहिलो– प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, उद्योग–वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी रोकिएको चिया बिक्री तथा निकासी खुलाउनुपर्छ।

दोस्रो– हाल भारतीय गोदाममा रोकिएका खेपलाई प्राथमिकताका साथ परीक्षण गरी तत्काल बिक्री अनुमति दिने र अनावश्यक गोदाम, ढुवानी तथा विलम्ब खर्चबाट उद्योगीलाई जोगाउने व्यवस्था गरिनुपर्छ।

तेस्रो–नेपालका मान्यताप्राप्त प्रयोगशालाको प्रमाणपत्रलाई भारतले स्वीकार गर्नेगरी पारस्परिक मान्यता, संयुक्त परीक्षण प्रोटोकल, अनलाइन ट्र्याकिङ र निश्चित समयसीमा कायम गरिनुपर्छ।

चौथो–उद्योग सञ्चालन र किसानको हरियो पत्ती खरिद निरन्तर राख्न प्रभावित उद्योगलाई आकस्मिक सहुलियतपूर्ण चालु पुँजी, ब्याज राहत, भण्डारण सुविधा तथा किसानको भुक्तानी सुनिश्चित गर्ने व्यवस्था गरिनुपर्छ।

पाँचौँ– पूर्वी नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त चिया परीक्षण प्रयोगशाला स्थापना, नेपाली चियाको पहिचान र ट्रेसबिलिटी विकास तथा चीन, मध्यपूर्व, युरोप, पाकिस्तानलगायत वैकल्पिक बजार विस्तारलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्छ।