काठमाण्डु– खाना नदिएको भन्दै होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका सुकुम्बासी खान नपाएपछि प्रदर्शनमा उभिएका हुन् । सुकुम्बासी विरोधमा उत्रिएपछि त्यहाँ बाक्लो संख्यामा सुरक्षा तैनाथी गरिएको छ ।
सोमबारदेखि सरकारले खाने व्यवस्था बन्द गरेको सुकुम्बासीहरुको भनाइ छ ।
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार सोमबार बिहानदेखि माथिको आदेश भन्दै खानेकुरा दिन छाडिएको छ ।
यसअघि सरकारले २४ असारभित्र होल्डिङ सेन्टर छाडेर जान तथा आफ्नो बस्ने खाने व्यवस्था आफैं गर्न भनेको छ ।
खाना बन्द हुँदा वृद्धवृद्धा, सुत्केरी महिला, बालबालिका र बिरामी सबैभन्दा मर्कामा परेका छन् । गत वैशाखमा बागमती र मनोहरा किनारमा डोजर चलाएर सरकारले सुकुम्बासी बस्ती हटाएको थियो ।
छिट्टै वैकल्पिक व्यवस्था गर्ने आश्वासनसहित अस्थायी रुपमा होल्डिङ सेन्टरमा राखिएको दाबी सरकारका मानिसहरुले गरेका थिए । खरिपाटीमा मात्र २ सय बढी सुकुम्बासी राखिएका छन् ।




प्रतिक्रिया