सुकुम्बासी बस्ती खाली गराउने सरकारी कदमको विरोध

सुकुम्बासी बस्ती खाली गराउने सरकारी कदमको विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन दिएको निर्देशनको विरोध सुरु भएको छ ।

प्रधानमन्त्री बालेन शाहले शनिबार र आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

बिनाविकल्प, क्षतिपूर्ति वा व्यवस्थापन नगरी वर्षायामको मुखमा गरिब तथा विपन्न वर्गमाथि डोजर चलाउने निर्णय अन्यायपूर्ण र आत्मघाती भएको भन्दै विरोध सुरु भएको हो ।

जेनजेड रेड फोर्स नेपालले सरकारको यो कदमलाई अमानवीय र चुनावी प्रतिबद्धताविपरीत भएको भन्दै आपत्ति जनाएको छ ।

फोर्सकी केन्द्रीय संयोजक स्मृति तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा बिनाविकल्प, क्षतिपूर्ति वा व्यवस्थापन नगरी वर्षायामको मुखमा गरिब तथा विपन्न वर्गमाथि डोजर चलाउने निर्णय अन्यायपूर्ण र आत्मघाती भएको भनिएको छ।

निर्वाचनका बेला रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरूले सुकुम्बासी बस्ती नहटाउने प्रतिबद्धता जनाएको स्मरण गराउँदै सत्तामा पुगेपछि विपन्न वर्गमाथि कठोर कदम चालिएको आरोप फोर्सले लगाएको छ। सुकुम्बासीलाई भोट बैंकका रूपमा प्रयोग गरिएको भन्दै संगठनले यस्तो प्रवृत्तिको विरोध गरेको छ।

यस्तै जेनजी अभियन्ता रक्षा बमले पनि प्रधानमन्त्री शाहले सुकुम्बासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन्।

उनले सुकुम्बासी बस्तीहरू खाली गर्न निर्देशन प्रधानमन्त्री बालेनको अपरिपक्वता मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ भएको टिप्पणी गर्दै असन्तुष्टि जनाएकी हुन्।